कोरोना जाँचका लागि बाँके बस दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

बाँके – बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रकाश थापाले मृतक ११ जना पुरुष, एक महिलागरी १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए।

‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरिएको छ,’ थापाले भने ‘उनीहरूको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुनेछ।’

उनले सबैको पिसिआर विधिबाट चेकजाँच हुने जानकारी दिए।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए।

‘उद्धारमा खटिएका सुरक्षाकर्मीलाई छुट्याएर उनीहरु सबैको कोरोना परीक्षण गरिने छ,’ एसपी वलीले भने ‘उद्धारमा प्रयोग गरिएका प्रहरीका गाडीलाई पनि स्यानीटाइज गरिएको छ।’

प्रहरीको गाडीमा समेत घाइतेको रगत रहेको, सुरक्षाकर्मीले घाइतेलाई अंगालो हालेर उद्धार गरेको हुँदा उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने उनले बताए।

‘पहिला घाइते र मृतकको स्वाब संकलन गरिएको छ,’ एसपी वलीले भने ‘त्यो रिपोर्ट हेरेर उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने छ।’

आफू अहिले घटनास्थलबाट फर्किरहेको बताएका एसपी वलीले गाडी धनी आउन लागेको हुँदा त्यसपछि मृतकको सनाखत गर्न सहज हुने बताए।