
सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नं ३ मा लैङ्गिक समानता, सामाजिक न्याय प्रवर्द्धन तथा जलवायु अनुकूलनका विषयमा वडास्तरीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आवाज संस्था र TDH/MISEREOR/KZE को संयुक्त साझेदारीमा सञ्चालित “नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना” अन्तर्गत आयोजना गरिएको कार्यक्रममा समुदायका विभिन्न सरोकारवाला पक्षको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं। ३ का वडाध्यक्ष बलबहादुर रोकाय सहभागी हुनुभएको थियो। कार्यक्रममा महिला समूहका ५ जना, बाल समूहका २ जना, युवा समूहका ५ जना, वडा जनप्रतिनिधि ५ जना, धामी–झाँक्री ५ जना, नेपाल प्रहरीका १ जना, वडा प्रशासन तथा सम्बन्धित शाखाका २ जना तथा शिक्षक ५ जना गरी जम्मा ३० जना सहभागी रहेका थिए।
कार्यक्रममा आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकाय ले सहजीकरण गर्दै जलवायु परिवर्तनका कारण समुदायमा देखिएका असर, विशेषगरी महिलाले दैनिक जीवनमा भोगिरहेका चुनौती, लैङ्गिक समानता, सामाजिक न्याय, बाल अधिकार संरक्षण तथा समुदायमा रहेका हानिकारक अभ्यास न्यूनीकरणका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै, जलवायु अनुकूलनलाई स्थानीय योजना तर्जुमासँग जोड्ने आवश्यकता औँल्याउँदै सुधारिएको चुलोको प्रयोगले स्वास्थ्य, वातावरण संरक्षण र दाउराको खपत घटाउन पुर्याउने सकारात्मक योगदान बारे पनि जानकारी गराइएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष बलबहादुर रोकाय ले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सोच र व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु अनुकूलनका विषयलाई वडा स्तरको योजना तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग, समन्वय र निरन्तरता दिइने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने आवाज संस्था तथा साझेदार संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सहभागीहरूले पनि अन्तरक्रियाबाट प्राप्त सिकाइलाई समुदायमा व्यवहारमा उतार्दै महिला, बालबालिका र युवाको अधिकार सुनिश्चित गर्ने तथा जलवायु–उत्थानशील र समावेशी समुदाय निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।