
सुर्खेत – दशनामी समाज, खस सभ्यता र ऐतिहासिक पहिचानका विषयमा केन्द्रित अनुसन्धानात्मक कृति ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ को लोकार्पण गरिएको छ ।
लेखक खडानन्द चौलागाईद्वारा लिखित उक्त कृति मंगलबार एक औपचारिक कार्यक्रमकाबिच सुुर्खेतमा लोकार्पण गरिएको हो । उक्त पुस्तकले दशनामी तथा नाथ–योगी परम्पराबारे समाजमा प्रचलित भ्रम, खस सभ्यताको ऐतिहासिक विकासक्रम र समुदायको सांस्कृतिक योगदानलाई प्रमाणसहित उजागर गरेको छ ।
कोलमुनी परिवार, सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, इतिहास अध्येता, समाजसेवी, शिक्षाविद् तथा दशनामी समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता स्वर्गीय बलदेव गिरीकी धर्मपत्नी उमादेवी गिरीले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा सुर्खेत बहुमुखी क्याम्पसका पूर्वप्रमुख महेन्द्रप्रसाद योगी सहभागी भएका थिए ।
कार्यक्रममा वक्ताहरूले पुस्तकले दशनामी समाजको ऐतिहासिक योगदान, सांस्कृतिक पहिचान तथा खस सभ्यताको विकासक्रमलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गरेको बताएका थिए । उनीहरुले यसलाई समुदायको इतिहास अभिलेखीकरणतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । उनीहरूले ऐतिहासिक तथ्य र प्रमाणमा आधारित यस्ता कृतिले नयाँ पुस्तालाई आफ्नो पहिचान बुझ्न र इतिहासप्रति सचेत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
लोकार्पणपछि लेखक खडानन्द चौलागाईले पुस्तक साहित्यिक कृति मात्रै नभई इतिहास, संस्कृति र पहिचानको खोजीमा आधारित अनुसन्धानात्मक दस्तावेज भएको बताए । उनका अनुसार दशनामी तथा नाथ परम्पराप्रति समाजमा रहँदै आएका भ्रमहरूलाई ऐतिहासिक दस्तावेज, वंशावली, गुठी अभिलेख, शिलालेख तथा विभिन्न स्रोत सामग्रीको अध्ययन–अनुसन्धानमार्फत स्पष्ट पार्ने उद्देश्यले पुस्तक तयार गरिएको हो ।
लेखकले पुस्तकमा नेपालको खस सभ्यताको विकास, ऐतिहासिक सिञ्जा उपत्यकाको भूमिका, दशनामी समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदान, परम्पराको विकास, गृहस्थीकरणको प्रक्रिया, वर्तमान पहिचानका चुनौती र भावी पुस्ताको दायित्वबारे विस्तृत चर्चा गरिएको जानकारी दिए । उनका अनुसार ऐतिहासिक तथ्यमा आधारित यस कृतिले दशनामी समुदायको वास्तविक इतिहासबारे अध्ययन गर्न चाहने अनुसन्धानकर्ता तथा आमपाठकलाई उपयोगी आधार सामग्री प्रदान गर्नेछ ।
१० खण्डमा विभाजित पुस्तकमा ऐतिहासिक कोलमुनी वंशको वंशावली, ‘कोलमुनी वंशदर्पण’, दशनामी समुदायको गौरवपूर्ण इतिहास तथा समुदायको सामाजिक विकासक्रम समेटिएको छ । साथै नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएका स्वर्गीय बलदेव गिरीको जीवनयात्रा, राष्ट्रसेवा, सामाजिक योगदान तथा उहाँप्रति समर्पित काव्यिक सिर्जनाहरूलाई पनि पुस्तकमा समावेश गरिएको छ, जसले कृतिलाई इतिहाससँगै भावनात्मक दस्तावेजका रूपमा समेत स्थापित गरेको छ ।
कार्यक्रममा पूर्व क्याम्पसप्रमुख महेन्द्रप्रसाद योगीले दशनामी समाजको मौलिक संस्कृति, परम्परा र योगदानलाई उजागर गर्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनका अनुसार समाजमा विद्यमान पूर्वाग्रह हटाउन, ऐतिहासिक सत्य स्थापित गर्न तथा समुदायबीच आपसी समझदारी विकास गर्न यस्ता अनुसन्धानमूलक कृतिहरू अपरिहार्य छन् ।
पुस्तकको प्रकाशकीयमा दशनामी (गिरी, पुरी, भारती आदि) तथा नाथ–योगी परम्पराले इतिहास निर्माणमा उल्लेखनीय योगदान दिए पनि समाजमा अझै पहिचानको संकट र पूर्वाग्रह भोग्नुपरेको उल्लेख गरिएको छ । विशेषगरी ‘जोगी’ भन्ने संकीर्ण दृष्टिकोण, गृहस्थ योगीको वास्तविक पहिचान तथा मृत्युसंस्कारमा अपनाइने भू–समाधि परम्पराको दार्शनिक पक्षलाई पुस्तकले ऐतिहासिक सन्दर्भसहित व्याख्या गरेको जनाइएको छ ।
प्रकाशकीयकी लेखिका शान्ता चौलागाईले आफू गुरु शंकराचार्यको सिद्धान्तअनुसार गिरी परिवारमा जन्मिएकोमा गौरवान्वित भएको उल्लेख गर्दै समाजमा दशनामी समुदायप्रति विद्यमान भ्रम र अपमानको चित्तबुझ्दो उत्तर पुस्तकले दिएको बताएकी छन् । उनले पुस्तकले दशनामी र खस सभ्यताको अन्तरसम्बन्ध, वंशावली र ऐतिहासिक यथार्थलाई प्रमाणसहित प्रस्तुत गरेको उल्लेख गरेकी छन् ।
प्रकाशकीयमा स्वर्गीय बलदेव गिरीलाई अदम्य साहस, सैनिक अनुशासन, खेलकुदप्रतिको समर्पण र राष्ट्रभक्तिको प्रतीकका रूपमा स्मरण गरिएको छ । साथै उमादेवी गिरीको मौन त्याग र समर्पणलाई दशनामी समाजका महिलाहरूको संघर्ष र योगदानको प्रतिनिधित्व गर्ने प्रेरणादायी उदाहरणका रूपमा चित्रण गरिएको छ ।