‘एकल महिलाको सामाजिक र आर्थिक शसक्तिकरणमा जोड’

सुर्खेत – कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले एकल महिलाहरुको सामाजिक र आर्थिक शसक्तिकरणमा जोड दिनुभएको छ ।

शुक्रबार वीरेन्द्रनगरमा मानव अधिकारका लागि महिला एकल महिला समूह, सुर्खेतको १०औँ चुनावी साधारणसभाको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै उहाँले एकल महिलालाई अधिकारका विषयमा सचेत बनाउँदै उनीहरूको क्षमता विकास र नेतृत्व तहमा सहभागिता बढाउँनुका साथै आर्थिक रुपमा आत्मनिर्भर गराउँनुपर्नेमा जोड दिनुभयो । उहाँले एकल महिलाको सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य, सीप, रोजगारी तथा आयआर्जनका अवसर प्रदान तथा विभिन्न निकायको नेतृत्वमा पु¥याउँन सबै पक्ष जिम्मेवार रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, समाजमा अझै पनि एकल महिलामाथि हेर्ने दृष्टिकोण फरक छ । विभेद, हिंसा र असमान व्यवहार छन् । एकल महिलाले भोग्दै आएका सामाजिक, आर्थिक समस्याको लागि सहयोगी कार्यक्रमहरु सञ्चालन त भएका छन् । यि कार्यक्रमलाई अझै प्रभावकारी र निरन्तर गरेर सबै एकल महिलाहरुलाई समेट्नुपर्छ ।’

उहाँले एकल महिलाले एकअर्कालाई सहयोग गर्दै आफ्ना अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुुभयो । उहाँले भन्नुभयोर्, एकल महिलाहरुको शसक्तिकरण र सम्मानपुर्वक जिवनयापन गराउँने वातावरण राज्यको मात्र नभई हामी सबैको हो । तपाईहरु पनि एक जुट भएर सबैले हातेमालोको आवश्यक पर्छ । दिदीबहिनीहरुले एकअर्कोलाई सहयोग गर्नुहोस्, । दिदीबहिनि एकसाथ अघि बढ्नुभयो भने सामाजिक तथा आर्थिक रुपमा सशक्त बन्न सकिन्छ ।

उहाँले एकल महिलाको हकहित र अधिकारका लागि महिला एकल महिला समूहले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । एकल महिलाको अधिकार स्थापित गर्न र एकल महिला समुह स्थापनाका लागि गरेको संघर्षको स्मरण गर्दै उहाँले यस संस्था सबै एकल महिलाहरुको छहारी भएको र यस संस्थामा सबैलाई आवद्ध गराइ उनीहरुको अधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा एकल महिला समूह सुर्खेतले सभामुख गुरुङलाई एकल महिला हकअधिकारका लागि आवाज उठाउँदै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको छ । एकल महिलाको अधिकार प्राप्तिका लागि सवाल उठान, आन्दोलनको नेतृत्व तथा एकल महिलालाई संगठित गर्न पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।