
सुर्खेत – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा नेतृत्व सर्वसम्मत रूपमा चयन हुने भएको छ। अधिवेशनको तयारीका क्रममा देखिएको आन्तरिक विवाद अन्त्य गर्दै कांग्रेसका सबै पक्षका नेता सहमति र सहकार्यका साथ अघि बढ्न सहमत भएका हुन्।
नगर, प्रदेश र क्षेत्रीय कार्यसमितिसहित महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गर्ने गरी सहमति जुटेको केन्द्रीय प्रतिनिधि श्रीराम लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार क्षेत्र नम्बर २ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।
अधिवेशनको प्रक्रिया तथा नेतृत्व चयनका विषयमा पछिल्लो एक सातादेखि देखिएको मतभेदका कारण क्षेत्रीय कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो। सहमति जुटेसँगै आज कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ।
लामिछानेका अनुसार पार्टीको बृहत्तर हित, संगठनको एकता र आगामी निर्वाचनलाई केन्द्रमा राखेर सबै पक्षका नेता एक ठाउँमा आएका हुन्। आन्तरिक प्रतिस्पर्धालाई विवादका रूपमा अघि नबढाई सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनेको उहाँले बताउनुभयो।
कांग्रेस नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध र संगठनलाई थप बलियो बनाएर अघि बढाउन अहिले जुटेको सहमति महत्वपूर्ण रहेको बताएका छन्। पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने लामिछानेले जानकारी दिनुभयो।
अब क्षेत्र नम्बर २ मा सहमतिका आधारमा अधिवेशनका बाँकी प्रक्रिया अघि बढाइने भएको छ। सर्वसम्मत नेतृत्व चयनसँगै लामो समयदेखि देखिएको आन्तरिक मतभेद अन्त्य हुने र पार्टी संगठन थप एकताबद्ध भएर अघि बढ्ने कांग्रेस नेताहरूको विश्वास छ।