बाढीपीडितका लागि ग्रीनल्याण्ड एकेडेमीको एक लाख सहयोग

सुर्खेत – रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि श्री ग्रीनल्याण्ड एकेडेमी, वीरेन्द्रनगर–३, सुर्खेतले आर्थिक सहयोग गरेको छ।

विद्यालय सञ्चालक प्रकाश शाहीका अनुसार विद्यालय परिवारका तर्फबाट मानवीय सहयोगस्वरूप रु १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको हो।

विपत्तिको घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विद्यालयका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरी उक्त सहयोग प्रदान गरेका हुन्।

विद्यालय परिवारले बाढीका कारण प्रभावित तथा पीडित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत र पुनःस्थापनाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।