
सुुर्खेत – नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष तथा पत्रकार मधुवन बिसीलाई सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ । संघको कार्यसमिति बैठकको निर्णयअनुसार बिसीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको हो ।
संघका अध्यक्ष हर्षविक्रम खड्काले बिसीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । पत्रकारिता क्षेत्रमा बिसीले पु¥याउँदै आएको योगदान तथा नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्षका रूपमा निर्वाह गरिरहेको भूमिकालाई मध्यनजर गर्दै संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
उनले भने, ‘संघले पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्षलाई प्रेस सल्लाहकार नियुक्त गर्ने विगतदेखिको प्रचलनलाई निरन्तरता दिँदै संघ र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउन खोजेको हो ।’
संघका गतिविधि, उद्योगी–व्यवसायीका समस्या तथा संस्थागत धारणा सम्बन्धित निकाय र आमनागरिक समक्ष प्रभावकारी रूपमा पु¥याउन प्रेस सल्लाहकारको भूमिका महत्वपूर्ण हुने संघको विश्वास छ । नवनियुक्त प्रेस सल्लाहकार बिसीले संघले दिएको जिम्मेवारीलाई सञ्चार क्षेत्र र निजी क्षेत्रबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने अवसरका रूपमा लिएको बताए ।
‘उद्योगी–व्यवसायीका समस्या, निजी क्षेत्रका सवाल तथा संघका गतिविधिलाई सञ्चारमाध्यममार्फत तथ्यपूर्ण र प्रभावकारी रूपमा सार्वजनिक गर्न मेरो भूमिका रहनेछ’ उनले भने, ‘आगामी दिनमा संघ र सञ्चार क्षेत्रबीच थप सहकार्य र समन्वय गर्दै उद्योगी–व्यवसायीका सवाललाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्छुु ।’
यता उद्योग वाणिज्य संघले पनि संघ र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रेस सल्लाहकारको भूमिका महत्वपूर्ण हुने बताएको छ । उद्योगी–व्यवसायीका समस्या, संघका गतिविधि तथा निजी क्षेत्रका मुद्दालाई सम्बन्धित निकायसम्म पु¥याउन सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।
बिसीको नियुक्तिले संघको संस्थागत गतिविधिको प्रचार–प्रसारसँगै सञ्चार क्षेत्रसँगको समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ । संघले नवनियुक्त प्रेस सल्लाहकारले संघको पेसागत जिम्मेवारी, गोपनीयता तथा संस्थागत हितलाई कायम राख्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरेको छ ।