नेपालगञ्जबाट सल्यान जाँदैगरेको बस दुर्घटना १२ जनाको मृत्यु, २१ घाइते

बाँके -नेपालगञ्जबाट सल्यान जाँदै गरेको यात्रुबाहक बस बाँकेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा आइतबार राती बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् ।

३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । साथै दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमको भनाई छ ।