काठमाडौं— नेपालमा पहिलो पटक कोरोना संक्रमित चिकित्सकको निधन भएको छ । बिहीबार भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमण भएका सिनियर अर्थोपेडिक सर्जन ५८ वर्षीय डा. हरि सापकोटाको निधन भएको हो ।
सरकारी चिकित्सक संघका अध्यक्ष तथा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले सो जानकारी दिएका हुन् । ‘कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक, अग्रज चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सपकोटा गुमायौं, । यो देशको लागि अपुरणीय क्षति हो, ’ डा. खड्काले भने ।
सरकारी चिकित्सक संघका महासचिव डा. कीर्तिपाल सुवेदीले प्रदेश हस्पिटल सुर्खेतमा कार्यरत सिनियर अर्थोपेडिक सर्जन डा. सापकोटाको निधन भएको खबर प्राप्त भएको बताए । प्रदेश अस्पताल सुर्खेतमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डा. सापकोटालाई दुई हप्ताअघि कोरोना संक्रमण देखिएको थियो ।
कोरोना देखिएपछि उनको स्वास्थ्यमा समस्या बढेपछि सुर्खेतबाट भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । भेरी अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको डा. रविनले जानकारी दिए । ‘हिजोसम्म स्वास्थ्य अवस्था ठीकै थियो ।
आज विहानदेखि स्वास्थ्य गम्भीर बन्न थालेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो,’ डा. रविनले भने, ‘अहिले उहाँको निधन भएको खबर प्राप्त भयो ।’ डा. सापकोटा विगत २० वर्षयता मधुमेहको बिरामी रहेकाले औषधि सेवन गरिरहेका थिए । उनलाई आजै भारतको म्याक्स अस्पताल लैजाने तयारी थियो । (हेल्थ आवाज)