सुर्खेत – सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुर्खेतमा जनजीवन प्रभावित बनेको छ ।
वर्षाले पहिरो जाँदा कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे भेरीगंगा नगरपालिका-२, पैसठ्ठी भन्ने स्थानमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा रत्न राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरोको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक प्रेम बहादुर गुरुङको कमान्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले जेसीबीको सहायताले पहिरो पन्छाउने काम सुरु गरेको थियो ।
अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए। यसै गरी, अविरल वर्षाकै कारण गुर्भाकोट नगरपालिका(१, काल्चे घुमाउनेमा एक घर भत्किएको छ । आज बिहान ८:४५ बजे स्थानीय ३२ वर्षीया दालमाया बुढाको तीन तले कच्ची घरको पूर्वपट्टिको भित्ता भत्किएको हो ।
ढुंगा र माटोले बनेको जस्तापाताले छाएको उक्त पाँच कोठे घर भत्किँदा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बुढ्थापाले बताए। घरमा श्रीमान्, श्रीमती र एक छोरा, एक छोरी गरी चार जनाको परिवार बस्दै आएको थियो । घटनापछि उनीहरू सुरक्षित रूपमा माइतीघरमा आश्रय लिएर बसेका छन् ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मालारानीबाट खटिएको प्रहरी टोलीले परिवारको उद्धारमा सहयोग गरेको थियो ।