दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ग्यास, व्यवसायिक परीक्षणको बाटो खुल्यो

सुर्खेत – दैलेखको जलजलेमा नेपाललाई ५० वर्ष पुग्ने ग्यास रहेको पत्ता लागेको छ । जलजलेमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पृष्टि भएसँगै अब व्यवसायिक परीक्षणको बाटो खुलेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार प्रारम्भिक प्रतिवेदनअनुसार जलजलेमा ठूलो परिणाममा मिथेन ग्यास रहेको पृष्टि भएको हो । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो । तर उक्त प्रतिवेदनको अन्तिम रिपोर्ट भने आउन बाँकी छ ।

विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख निदेशकुमार नापितका अनुसार आगामी डिसेम्बरसम्म अन्तिम प्रतिवेदन आउने छ । प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा ग्यास रहेको पृष्टि भएपछि अब यसको उत्खनन्का लागि व्यवसायिक परीक्षणको काम सुरु गर्न बाटो खुलेको उनले बताए ।

‘चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास जलजलेमा रहेको पत्ता लागेको छ’ उनले भने, ‘अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।’

उनका अनुसार परीक्षण उत्पादन गर्न थप अर्बौ रकम खर्च लाग्नेछ । तर यसबिषयमा नेपाल सरकार कसरी अघि बढ्छ त्यो हेर्न बाँकी रहेको उनी बताउँछन् । अब बाँकी प्रक्रियाका लागि दुबै देशका सरकारबीच थप सम्झौता भएको खण्डमा ग्यासको परीक्षण उत्पादनको काम अघि बढ्नेछ ।

चीनियाँ कम्पनीले २०८१ बैशाख २८ गतेदेखि सुरु भएको ड्रिलिङको काम गत पुस २० गते सम्पन्न भएको थियो । बैशाखमा सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएपनि कडा चट्टानका कारण आयोजना लम्बिन गएको थियो । कुल ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरेर स्याम्पल संकलन गरी चीन पठाइएको हो । जसमा प्रति १÷१ मिटरको स्याम्पल परीक्षणका लागि पठाइएको थियो ।

चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको हो । सुुरुमा पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेशणको काम थालिएको थियो । हाल ग्यास धेरै रहेको पत्ता लागेको छ । प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको परियोजनाका प्रमुख नापितले बताए ।

उनका अनुसार जलजले क्षेत्रमा रहेका ४ वटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्रै प्रारम्भिक नतिजा आएको हो । बाँकी ३ कुवाको प्रारम्भिक अनुमान गर्दा जलजले क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ ।

हाल अवेन्वषस्थलबाट संकलन गरिएका नमुनाबाट प्राप्त नतिजा प्रारम्भिक हुन् । ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको विभागले जनाएको छ । यदी मिथेन ग्यास व्यावसायिक उत्पादन हुन सके नेपाल अर्थतन्त्रमा थप बलियो बन्ने विज्ञहरुले बताएका छन् ।

यस परियोजनाबाट हालसम्म प्राप्त नतिजाहरू सकारात्मक देखिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका भूगर्भविद्हरु बताउँछन् । अन्वेषणमा संलग्न नेपाली तथा चिनियाँ अधिकारीहरूले ठ्लो मात्रामा प्राकृतिक मिथेन ग्यास रहेको प्रमाणले व्यावसायिक उत्पादनको सम्भाव्यता पनि सकरात्मक देखिने बताएका छन् ।

परियोजनाका भूगर्भविद् प्रकाश लुइँटेलले अब अन्तिम नतिजाको पर्खाइमा रहेको बताए । उनका अनुसार ड्रिलिङको काम सकिएलगत्तै प्राप्त चट्टान, ग्यासलगायतको नमुना (स्याम्पल) संकलन गरी प्रयोगशालामा परीक्षणका लागि तातोपानी नाकाहुँदै चीन पठाईएको थियो ।

पेट्रोलियम अन्वेषण परियोजनाका कामहरू ३ चरणमा गरिएका थिए । जसमा पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन, दोस्रो चरणमा ड्रिलिङ र तेस्रो चरणमा प्राविधिक नतिजा विश्लेषणका काम भएका हुन् । ‘हाल तेस्रो चरणकै काममा छौं । अन्तिम निष्कर्ष प्रतिवेदन कुरिरहेका छौं’ उनले भने, ‘दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यास बलिरहेको छ । पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा ग्यास तैरिइरहेको छ ।’