वीरेन्द्रनगर – सहिद जीवन निर्वाह विशेष भत्ताका लागि कर्णाली प्रदेश सरकारले पाँच करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि दुई करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि दुई करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल चार करोड ८५ लाख ५२ हजार रुपैयाँ निकासा गरिने छ ।
यसका लागि स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिइएको प्रवक्ता शाहले बताए । ‘यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ’ उनले भने, ‘यसले शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा छ ।’
मन्त्रिपरिषद बैठकले प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको उनले जानकारी दिए । जस अनुसार आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०८२ र कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति गर्ने निर्णय गरिएको छ ।
यस्तै कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृति गरिएको छ ।