त्रिपुरेश्वर सहकारीको ३१ औं साधारणसभामा सम्पन्न

सुर्खेत – त्रिपुरेश्वर बथत तथा सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१ सुर्खेतको ३१ औं वार्षिक साधारणसभामा सम्पन्न भएको छ ।

शनिबार सहकारीको कार्यालय परिसरमा साधारणसभामा आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ मा सहकारी संस्थाबाट भए गरेका कार्यक्रमहरूका बारेमा सम्पूर्ण सेयर सदस्यहरुलाई जानकारी दिइएको थियो । भने आर्थिक वर्ष २०८२/२०८३ को लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमलाई प्रस्तुत गरिएको थियो ।

सभामा उपस्थित सेयर सदस्यहरुले सहकारीले गरेका काम कारवाहीको प्रशंसा गरेका थिए । सेयर सदस्यहरको सक्रिय सहभागिता र योगदानले सहकारीलाई अझ मजबूत र समृद्ध बनाउन सहयोग पुगेको संस्थाका अध्यक्ष राजेन्द्र देव गिरीले बताए । सहकारीको आर्थिक तथा प्रशासन सुशासनलाई थप सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक बैठक तथा निर्णय गरिएको उनले जानकारी दिए ।

‘विश्वव्यापी आर्थिक मन्दीका कारण बजार चलायमान बनाउनुका साथै संस्थाका दैनिक कार्य सञ्चालन जारी राख्यौं’ उनले भने, ‘त्यसका लागि सञ्चानक समितिको मासिक बैठक लगायत विभिन्न समिति तथा उप–समितिका आवश्यकता अनुसार बैठकहरू सञ्चालन भई मासिक कार्य प्रगति, समिक्षा र निर्णय कार्यान्यनमा ल्याएका छौं ।’

उनका अनुसार सञ्चानक समिति तथा विभिन्न समिति, उप–समितिका गरी कुल ९९ पटक बैठक बसेर २१४ वटा निर्णय गरी कार्यान्वयन गरिएको छ । नियतवस नियम विपरित लगानी गरिएका ऋण असुलीका लागि सम्बन्धित निकाय समक्ष फाइलहरू पेश गरिएको उनले बताए । ऋण असुलीका लागि प्रचलित कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी केही त्यस्ता ऋण असुली भएको उनको भनाइ छ ।

‘बिना धितो, धितो साटफेर भएका, ऋण असुली नगरी धितो फुकुवा भएका र अटो रिक्सामा लगानी गरिएका ऋणको सन्दर्भमा ऋण असुल्न विशेष पहल गरेका छौं’ उनले थपे, ‘यसका लागि सम्बन्धित ऋणी तथा प्रक्रिया नपुराई ऋण लगानी गरिएका संलग्न पूर्व कर्मचारी तथा सञ्चालक समितिका व्यक्तिहरूको चलअचल सम्पत्ति समेत रोक्का राखी ऋण असुलीका लागि प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया बढाएका छौं ।’

चालु आर्थिक वर्ष २०८२÷२०८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुसार कार्यक्षेत्र भित्रका हरेक व्यक्तिलाई औपचारिक वित्तीय पहुँचभित्र ल्याउनका लागि वर्ष भरी सदस्यता खल्ला गरी दई सय जना नयाँ सदस्य थप गरिने उल्लेख छ । यस्तै सहकारी अभिमुखीकरण गोष्ठी कार्यक्रम र चाडपर्व विशेष कार्यक्रम सञ्चालन गरी सदस्यता विस्तार गर्ने योजना छ ।

सहकारी संस्थाका सचिव विनोद गिरीका अनुसार संस्थाको वित्तीय सेवाहरूमा निस्क्रिय रहेका सदस्यहरूलाई सक्रिय बनाउनको लागि अभिमूखीकरण सञ्चालन गरिनेछ । निस्क्रिय रहेका बाल बचतकर्ताहरूलाई सक्रिय बनाउनको लागि अभिभावकसँग अन्तरक्रिया गोष्ठी कार्यक्रम सञ्चालन गरिने उनले बताए । बाल बचतकर्ता भेला, बाल सदस्य सहकारी शिक्षा शिविर तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बाल बचत कर्ता विस्तार गर्ने उनको भनाइ छ ।

वित्तीय उत्तरदायित्वको उच्चतम मापदण्डहरू कायम राख्न सहकारी प्रतिबद्ध रहेको व्यवस्थापक कमल बहादुर खत्रीले बताए । उनका अनुसार आर्थिक वर्ष ०८१÷८२ को वासलात २० करोड ९८ लाख ८४ हजार रहेको छ । साना र मझौला निकायहरूको लागि नेपाल वित्तीय प्रतिवेदन अनुसार तयार भएका वित्तीय विरणहरू सञ्चालक समितिबाट अनुमोदित भई सोको लेखापरिक्षण समेत सम्पन्न भएको उनले बताए ।

आर्थिक वर्ष २०८१÷०८२ मा सहकारीको कुल आम्दानी दुई करोड ८७ लाख २१ हजार ९७६ रुपैया भएको छ । भने यस आर्थिक वर्षमा कुल खर्च दुई करोड १० लाख ९० हजार ८६५ रुपैया भएको छ । आम्दानीको महत्वपूर्ण श्रोत ऋण लगानीबाट दुई करोड ६१ लाख १२ हजार ५९४ रुपैया व्याज आम्दानी भएको व्यवस्थापक खत्रीले जानकारी दिए ।

बचतमा व्याज भुक्तानी यस संस्थाको मुख्य खर्च रहेकोमा सो बचतमा व्याज खर्च एक करोड २९ लाख ४० हजार ६५२ रुपैया रहेको उनले बताए । पूँजीगत खरिदहरूमा स्थिर सम्पत्ति खरिद अन्तर्गत कूल दुई लाख १७ हजार ३०० रहेको छ ।

जेष्ठ नागरिकको सम्मान स्वरुप संस्थाले साधारणसभाको प्रमुख अतिथिको रुपमा नन्दकला गुरुङलाई सम्मान गरेको थियो । साधारणसभामा पेश भएका सबै प्रतिवेदन सर्वसम्मत पारित गरिएका छन् ।