
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवालाई लिएर चर्को विवाद सिर्जना भएको छ । नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यस क्रममा प्रहरीसँगको झडपमा नेपाली कांग्रेस निकट एक कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस निकट कार्यकर्ता बखतबहादुर शाही रहेका छन् । उनलाई प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको थियो । शाहीले आफू अभिभावकको तर्फबाट गएको र प्रहरीले दमन गरेको आरोप लगाएका छन् । उनको गोप्य अङ्गमा चोट लागेको भनिएको छ र उनी वीरेन्द्रनगरस्थित माया नर्सिङमा उपचार गराइरहेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले शाहीले शान्तिपूर्ण आन्दोलनलाई उच्छृङ्खल बनाएपछि नियन्त्रणमा लिइएको र पछि छाडिएको बताए । उनले शाही शिक्षक नभएको र प्रहरीमाथि समेत हातपात गर्न खोजिएको दाबी गरे ।
असन्तुष्ट शिक्षक तथा नेपाल शिक्षक सङ्घमा आबद्ध केही व्यक्तिहरूले शिक्षकहरूले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिनुका साथै नगर शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
उनीहरूले आफ्ना व्यक्तिगत समस्या नबुझी केही नजिकका व्यक्तिलाई फाइदा पुर्याउनका लागि सरुवा गरिएको आरोप लगाएका छन् । नगरपालिकाले भने कात्तिक १२ गते गरिएको सरुवाको निर्णय विद्यमान शिक्षा ऐन अनुसार नै भएको दाबी गरेको छ ।