
हुम्ला – जिल्लाको नाम्खा गाउँपालिका–६ लिमी स्थित इलाका प्रहरी चौकी सुनखानीमा कार्यरत प्रहरीहरु जिल्ला फिर्ता भएका छन् ।
पछिल्लो समय अत्यधिक चिसो बढेपछि त्यहाँ बस्न नसकिने स्थिती हुदाँ सेवामा खटिएका प्रहरी जिल्ला फिर्ता भएका हुन् । असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि चौकीमा कार्यरत प्रहरीहरू चौकी बन्द गरेर जिल्लामा फर्किन बाध्य भएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
उनका अनुसार दुई दिन लगातार हिमपात भएपछि चिसो निकै बढ्दा इलाका प्रहरी चौकी सुनखानीबाट उनहिरुलाइृ सदरमुकाम सिमकोट फिर्ता बोलाइएको हो । उक्त इलाका प्रहरी चौकी ६ महिनाका लागि मात्रै सञ्चालन हुने गरेको उनले जानकारी दिए ।
‘गत वर्षहरुमा कार्तिक १५ गतेपछि मात्रै नकै चिसो बढेपछि जिल्लामा फिर्ता हुनेगदथ्ये । तर यस वर्ष पन्ध्र दिनअघि नै चिसोको कारण प्रहरी जिल्ला फिर्ता भएका छन’ उनले भने, ‘२३ जनाको दरबन्दी भएपनि हाल उक्त प्रहरी चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको कमान्डमा चौध जना मात्रै प्रहरी कार्यरत थि ।’
यता प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपात भएपछि चिसोले काम गर्न नसक्ने भन्दै जिल्लालाई खबर गरेका थिए । त्यसपछि जिल्लाले पनि चौकी छाडेर फिर्ता हुन आदेश दिएपछि इलाका प्रहरी चौकी सुनखानीका प्रहरीहरू सबै फिर्ता भएका हुन् ।
‘चौकीको धारामा पानी जम्ने, तापक्रम पनि माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न निकै कठिन अवस्था थियो’ प्रहरी नायब निरीक्षक चन्दले भने, ‘चौकी छोड्नै पर्ने बाध्यता आएपछि असोज २६ गते नै चौकी छोड्न चाहेका थियौ. । तर न्यालु लेकमा हिउ जमेको कारण सडक बन्द हुँदा केही दिन रोकिएर आयौं । बन्द गरिएको प्रहरी चौकी अब आगामी वैशाखबाट सञ्चालन हुनेछ ।’