
हुम्ला – दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबिच पनि जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख तथा एमडिजिपी डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँकी २१ वर्षीय हिरा सुनारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सुनारले तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माउनुभएको थियो । यस पटक उहाँले जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले बताउनुभयो ।
अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो । डा। तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कञ्चन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो । दक्ष चिकित्सक नहुँदा हुम्लाका अधिकांश महिलाले जिल्लाबाहिर गएर बच्चा जन्माउनुपर्ने अवस्था थियो । दक्ष चिकित्सक नभएकै कारण एक जना महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो । अहिले हुम्लामा दक्ष चिकित्सक भएकाले सुत्केरी हुँदा यहाँका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।
अहिले पनि जिल्ला अस्पतालमा नेपाल सरकारले बजेट नछुट्याएका कारण हुम्लाका नागरिक औषधी पाउनबाट वञ्चित छन् । अस्पताल परिवारले उक्त सफलतामा संलग्न सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यो उपलब्धिले हुम्लाका सम्पूर्ण स्वास्थ्यकर्मीको सामूहिक मनोबल बढेको पाइएको छ ।