संसद बैठकमा प्रतिपक्षी नआएपछि सत्तापक्ष दंग, आफै आपत्ती जनाएर…

सुर्खेत – कर्णाली प्रदेश सभामा सोमबार अनौठो दृश्य देखियो । सत्तापक्षका २१ जना सांसदले कृर्ची भरीभराउ हुँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका कुर्ची पुरै खाली थिए । प्रतिपक्षी दलबाट १ जना पनि सांसद उपस्थित नहुदाँ सत्तापक्षी दंग थिए । तर संसद बैठक भने सञ्चालन भयो । यो संघीयताकै नयाँ र आश्चर्यजनक दृष्य हो ।

तर प्रतिपक्षीविनै चलेको संसद बैठकमा भने सत्तापक्षकै सांसदले आपत्ती जनापछि बैठक थप कार्यसूचिमा प्रवेश नगर्दै स्थगन भयो । सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थितिविना संसद् अगाडि बढाउन नहुने धारणा राखे लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

बैठकमा धारणा राख्दै सांसद हिक्मत विष्टले भने, ‘आइतबार (हिजो) कार्यव्यवस्था बैठकमा संसद बैठक बस्ने कुरा भएको हो । तर आज संसदमा प्रतिपक्ष उपस्थित छैन । प्रचण्डको अभियानमा जाने भन्ने कुराहरु सुनिएको थियो । तर बैठक नराख्न भनिएको थिएन । संसद प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै बैठक सञ्चालन नगर्न आग्रह छ ।’

संसद प्रतिपक्ष दलको भएकाले बैठकमा यसरी अघोषित रुपमा उपस्थित नहुनु आश्र्यजनक भएको उनले बताए । उनले कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै उपस्थित भएर कार्यसूचि सहमतिमा तयार गरेको र बैठक उपस्थित नहुनु संसदीय मुल्यमान्यता विपरित हुने तर्क राखे ।

उनले थपे, ‘प्रिमनसुन सुरु भएको छ । वर्षा सूरु हुन थालेको छ । कर्णाली भौगोलिक रुपमा विकट छ । बाटाहरु खराव छन् । म प्रस्तावक भएर यही विषयमा एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूचि तयार गरेका थियौँ । यसमा प्रतिपक्ष दलको पनि सहमति थियो । प्रमुख प्रतिपक्ष दलबाट माननीय मिलन खड्का उपस्थित हुनुहुन्थ्यो । उहाँले पार्टीको अभियान भएकाले केही अभियानमा हुनुहुन्छ बाहेक अरु केही भन्नुभएन् । कार्यसूचि तयार गर्दा उहाँले निर्णयमा समेत हस्ताक्षर गर्नु भएको छ । यदि उपस्थित हुन नसक्ने भए बैठक आजै राख्नुपर्ने जरुरी थिएन् । एक्कासी बैठकमा नदेख्दा आश्चर्य लाग्यो ।’

बैठकमा प्रदेश सभा सदस्यहरु कोही पनि नदेखिएपछि बैठक थप कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको हो । तर सत्तापक्षले प्रमुख प्रतिपक्ष दल प्रदेश सभाको बैठक छोडेर पार्टी अभियानमा व्यस्त रहेको दावी गरेको छ ।

प्रदेश सभाको बैठक बस्नुअघि कार्यसूचि तयार गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ । उक्त परापर्श समितिमा सभामुखसहित प्रदेश सभामा उपस्थित सबै दलहरुको प्रतिनिधित्व हुन्छ । सोमबार बसेको प्रदेश सभाको बैठकका लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने र महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदन २०८२ पेश गर्ने कार्यसूचि तयार गरेको थियो ।

तर बैठकमा प्रतिपक्ष दलका कोही पनि प्रदेश सभा सदस्यहरु उपस्थित नभएपछि यसलाई सबैले आश्चर्यका रुपमा लिएका छन् । यता सभामुख नन्दा गुरुङले प्रमुख प्रतिपक्ष दल बैठकमा उपस्थित नहुने भन्ने विषयमा जानकारी नपाएको बताउँछिन् । उनले नेकपा समाजवादीका प्रदेश सभा सदस्य कल्याणी खड्का पार्टीको कार्यक्रमले काठमाण्डौँ जानु भएको र राप्रपाका प्रदेश सभा सदस्य सन्तोषी शाही बिरामी भएकाले उपस्थित हुन नसक्ने जानकारी बाहेक अरु थाहा नभएको बताइन् ।

किन गरे बहिस्कार ?

सोमबार बसेको कर्णाली प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरु नेकपा एकीकृत समाजबादी र राप्रपा पार्टीका सांसद उपस्थिति भएनन् । तर यी ३ वटै दलले प्रतिपक्षीको उपस्थितीविनै संसद बैठक सञ्चालन गरेकोमा आपत्ती जनएका छन् ।

प्रचलित अभ्यास अनुसार प्रतिपक्षीविना संसद बैठक सुरु नहुनुपर्ने हो । यता प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आफुहरु बैठकमा उपस्थिति नभएको बताए । उनले भने, ‘खास महत्वपूर्ण एजेण्डा नभएर संसद बैठक बोलाउने काम भएपछि आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा हामीले ७÷८ गतेसम्म बैठक बोलए हुन्छ भनेर भनेका थियौं । तर एजेण्डा नै नभई सत्तापक्ष दलहरुले बैठक सोमबार नै बोलाउने बताएपछि हामी बैठकमा उपस्थित नभएका हौं ।’

बैठक बसेर अवरुद्ध गर्ने, भत्ता लैजाने गर्नुभन्दा असहमति भएको दिनको भत्ता समेत नलिने गरी बैठक बहिष्कार गरेको उनको तर्क छ । विना जानकारी नभइ जानकारी गराएरै बैठकमा उपस्थित नभएको उनले दावी गरे । तर सत्तारुढ दलका नेताहरुले माओवादी अध्यक्ष मध्यपहाडी यात्रामा कर्णालीमा रहेकाले सांसदहरु त्यता जाँदा संसदलाई बेवास्ता गरेको भन्ने आरोप मात्रै रहेको उनको भनाइ छ । दलका नेता राजकुमार शर्मा र आफु बाहेक सबै सांसद वीरेन्द्रनगरमै रहेको उनले बताए ।

यता राप्रपा संसदीय दलका नेता सन्तोषी शाहीले आफु बिरामी भएका कारण बैठकमा उपस्थित नभएको भन्दै प्रतिपक्षीविना संसद बैठक हतारमा चलाउनुको कुनै तुक नभएको बताइन् । ‘बैठक नै सुरु नगरी सूचना टाँस गरेर स्थगन गर्नुपर्ने हो । तर बैठकमा बोलेर स्थगन गर्नु उपयुक्त होइन’ उनले भनिन्, ‘प्रतिपक्षीविनै सत्ता पक्षले जे गरेपनि हुन्छ भनेर दम्भ देखाउनु खतराको संकेत हो । गर्नुपर्ने काम र जानुपर्ने गन्तव्य एकातिर छ । प्रदेश सरकार अर्कोतिर हिडिरहेको छ ।’

एकीकृत समाजबादी संसदीय दलका नेता कल्याणी खड्काले पनि आफु जिल्ला बाहिर रहेका कारण बैठकमा उपस्थित हुन नसेको भन्दै प्रतिपक्षीविनै संसद चलाउन खोज्नु गलत भएको बताइन् । प्रतिपक्षी दलहरु बैठकमा उपस्थित नहुनुमा सबै दलको सल्लाह हो । या अन्य २ दलका सांसद उपस्थित नहुने सूचना पाएपछि माओबादी केन्द्रले पनि यसैमा मौका छोपेको हो ? यसबारे कसैले खुलाएका छैनन् ।