यस्तो छ, पञ्चपुरीका नगर प्रमुखको तीन वर्षे कार्यकाल

सुर्खेत – जिल्लाको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । विभिन्न कठिनाइकाबीच पालिकाले गरेका काम र उपलब्धि उनले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले पञ्चपुरीलाई कर्णालीकै उत्कृष्ट पालिका बनाउनेमा कसरत भइरहेको बताए । ‘सुर्खेत पश्चिमको केन्द्र बावियाचौरको दुरी केबल ४७ किलोमिटर मात्रै हो । केही अघिसम्म राजधानीको जिल्लाको पश्चिम क्षेत्र पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुराहरूबाट अति दुर्गम मानिन्थ्यो,’ उनले भने, ‘तर प्रदेश राजधानीसम्म पुग्न गतिलो सडक थिएन् । स्वास्थ्य र शिक्षाका लागि सदरमुकाम वीरेन्द्रनगर र कैलाली जानुपर्ने अवस्था थियो ।’

उनका अनुसार अहिले पश्चिम सुर्खेत ‘दुर्गम’ छैन । तर सडक पूर्वाधारले पछि परेको छ । पश्चिम सुर्खेतको तीन वटा पालिका बराहताल, पञ्चपुरी र चौकुनेका गाउँ बस्तीबाट मदन भण्डारी राजमार्ग सुदूरपश्चिमको डोटी जोडिदैँछ । ‘पञ्चपुरी जोड्ने सहायक सडकहरू पनि धमाधम कालोपत्रे भइरहेका छन् । बराहतालको बड्डीचौरदेखि पञ्चपुरीको बावियाचौरसम्मको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले कालोपत्रेको काम गरिरहेको छ,’ उनले भने, ‘पञ्चपुरी नगरपालिकाको बावियाचौर बजार संघीयतापछि जसरी समग्र पश्चिम सुर्खेतले काँचुली फेरिरहेको छ, त्यसैगरी बावियाचौरले ठूलो बजारको आकार लिँदैछ ।’

उनका अनुसार केही वर्ष अघिसम्म माथिल्लो कर्णाली, सुदूरपश्चिमको अछाम र बाजुरा जानका लागि सुदूरपश्चिमका तराईका जिल्लाहरूबाट बर्दिया–बाँके हुँदै वीरेन्द्रनगरसम्म घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सुदूरपश्चिमबाट लुम्बिनी हुँदै कर्णाली घुमेर आउनुपर्ने बाध्यता हटेको छ । कर्णाली चिसापानीबाट बावियाचौर हुँदै कर्णाली राजमार्ग छोएर पहाडी जिल्लामा यातायातका साधन चल्न थालेका छन् ।

संघीयतापछि बनेका सडक पूर्वाधारले पश्चिम सुर्खेतको कायापलट गरेको उनको भनाइ छ । उनका अनुसार सडक पूर्वाधारका कारण पश्चिम सुर्खेत अब दुर्गम हुने छैन । स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुग्यो । तर यो अवधिमा पञ्चपुरीले सडक र अन्य पूर्वाधार निर्माणका साथै सामाजिक सेवामा पनि महत्वपूर्ण काम पनि गरेको छ । नगर प्रमुख भण्डारीका अनुसार तीन वर्षको अवधिमा भावरदेखि माल्फा जोड्ने झोलुङ्गे पुल, चुनेरी तालमा झोलुङ्गे पुल, लामीदमारदेखि तोक्मा जोड्ने झोलुङ्गे पुल र दुलालथाईमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । तिखाकुना खोलामा सडक पुल निर्माणका लागि ठेक्का सम्पन्न भएको छ । यस्तै माझीगाउँ र र लामसीदमारमा ट्रस पुल निर्माण सम्पन्न भएका छन् ।

उनले आफ्नो तीन वर्षे कार्यकालमा विद्यापुरमा ५० लाख रूपैयाँको लगानीमा तरकारी संकलन केन्द्र र डेरी सञ्चालनमा ल्याइएको, शिवशक्ति धाममा एक करोड १५ लाख रूपैयाँमा सभाहल भवन, भोजनालय र गुरु आश्रम निर्माण गरिएको बताए । उनले यो अवधिमा छ वटा दुई कोठे भवन, चार वटा चार कोठे विद्यालय भवन, एक ज्येष्ठ नागरिक भवन, एक अपाङ्गता भएकाहरूका लागि भवन र छ वटा अन्य सार्वजनिक भवन निर्माण गरिएको जानकारी दिए ।
तीन वर्षको अवधिमा नगरपालिकाले विभिन्न सिँचाइ कुलोहरू निर्माण तथा मर्मत गरेको छ । एक करोड १० लाख रूपैयाँको लागतमा १७ सय मिटर लामो चुराफाले–समैचे सिँचाइ कुलो निर्माण, ३८ सय ८५ मिटरको पक्की सिँचाइ कुलो निर्माण गर्नुका साथै तीन वटा सिँचाइ पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले बरडम्मादेखि खरालटोलसम्म दुई करोडको लागतमा ६ सय मिटर तटबन्धन गर्नुका साथै जामुस्थित बागगाड खोलामा पाँच करोड ५० लाखको लागतमा तटबन्धन, गल्फाखोलामा एक करोडको लागतमा खुर्सानीबारी टोलमा ७१ लाखको लागतमा तटबन्धन निर्माण सम्पन्न गर्नुका साथै ढुंगीबजारमा तीन करोडको लागतमा तटबन्धन निर्माणको काम सुरु भएको जनाएको छ ।

नगरपालिकाले आधारभूत तह ९कक्षा १–८०सम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरेको छ । पञ्चपुरी नगरपालिका–२ मा रहेको सूर्यप्रकाश माविमा २० कोठे पक्की भवन निर्माण गरिनुका साथै शैक्षिक गुणस्तर कार्यक्रम लागु गरिएको छ । विद्यापुरको जनता माविमा एक करोडको लागतमा भवन निर्माण गरिएको छ भने समूह प्राविमा सञ्चालित विशेष शिक्षा कार्यक्रमका लागि आवास भवन, अपाङ्गमैत्री शौचालयलगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले असहाय तथा अभिभावक नभएका बालबालिकाहरूलाई कक्षा १० सम्म छात्रवृत्ति दिँदै आएकोमा चालू आर्थिक वर्षदेखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति दिइने जनाएको छ । नगरपालिकाले १५ शय्याको भवन निर्माण सम्पन्न गरेर सेवा दिइरहेको छ ।

नगरपालिकाले पछिल्लो तीन वर्षको अवधिमा झण्डै दुई हजार नागरिकको घरमा धारा जडान गरिएको छ । बरैचे खानेपानी आयोजनाबाट ४८१ धारा, माझीगाउँ खानेपानी आयोजनाबाट १२४, राजीधारा खानेपानी आयोजनाबाट २९६, मुरमुरी खानेपानी आयोजनाबाट ४५१, दुलालथाई माझीगाउँ चुनेरी ताल खानेपानी आयोजनाबाट ४७२ ताउले खानेपानी आयोजनाबाट ४७, लाटीकाँडा खानेपानी आयोजनाबाट ४२ धारा जडान गरिएको छ ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि स्थानीयका चौपायाहरूमा ट्याग लगाएर अभिलेख राख्ने गरेको छ । नगर प्रमुख भण्डारीका अनुसार हालसम्म ४७६ घरधुरीका एक हजार १७ पशुचौपायालाई ट्याग लगाएर अभिलेखीकरण गरिएको छ ।