रुकुमपश्चिम – जिल्लामा हरेक वर्ष उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण घट्दै गईरहेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा पछिल्ला वर्ष उद्योग दर्ताको सङख्या कम हुँदै गईरहेको हो ।
उत्पादन, निर्माण तथा उद्यमका लागि गरिने उद्योग दर्ताको सङख्या हरेक वर्ष कम हुँदै गईरहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीका अनुसार कार्यालयमा दर्ता हुने उद्योगको आधारमा पछिल्लो ३ वर्ष यता उद्योगीको सङख्या कम हुदै गएको छ । जसमा आर्थिक वर्ष ०७८/०७९ मा ३६३ उद्योग दर्ता भएका थिए । भने २२६ मात्रै उद्योग नविकरण भएका थिए ।
यसैगरी आर्थिक वर्ष ०७९/०८० मा २२८ उद्योग दर्ता भएका थिए । भने १३८ उद्योग नविकरण भएका छन् । चालु आर्थिक वर्ष ०८०/०८१ को हालसम्ममा १०० वटा मात्र उद्योग दर्ता र ७४ वटा उद्योग नविकरण भएका छन् ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १५, आर्थिक वर्ष ०७९/०८० मा २५ र चालु वर्षमा २२ उद्योग खाजेरी गरिएको छ । हरेक वर्ष उद्योग खारेजीको दर समेत बढीरहेको कार्यालयको भनाई छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उत्पादनमुलक, कृषितथा वनजन्य, पर्यटनमुलक, सेवामुलक प्रकृतिका उद्योगहरु दर्ता तथा नविकरण हुने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी ओलीले उद्योग दर्तापछि उद्यमीले उत्पादन गर्ने वस्तु र सेवाको बजारीकरणमा समस्या हुँदा यस्तो समस्या आएको बताए । युवापंक्ति वैदेशिक रोजगार तथा अध्ययनका लागि देश बाहिर जाने लहरका कारण पनि नयाँ उद्योगीको सङख्या घट्दै गएको कार्यालय प्रमुख रमेश ओली बताउँछन् । यसरी उद्योग दर्ताको सङख्या घट्दै जाँदा राजस्व सङ्कलनमा समेत कमी हुँदै गएको उनले जानकारी दिए ।
गत वर्षदेखि केही साना उद्योगहरु स्थानीय तहमै दर्ता हुने गरेका छन् । जसका कारण पनि जिल्ला स्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उद्योग दर्ता तथा नविकरणको सङख्या घटेको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय तहमा दर्ता गरिएका उद्योग बाहेक यहाँको कार्यालयमा हालसम्म वाणिज्यतर्फ २९० र उद्योगतर्फ १ हजार ५८६ वटा उद्योग दर्ता रहेका छन् ।
स्थानीय तहमा उद्योगतर्फ ३ लाख भन्दा कम र वाणिज्यतर्फ १० लाख भन्दा तलको व्यवसाय मात्रै दर्ता हुने गरेका छन् । सोभन्दा माथिका उद्योगहरू उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता हुँदै आएका छन् । यस कार्यालयले विभिन्न समयमा उद्योग वाणिज्य सम्वन्धी घुम्ती शिविर पनि संचालन गर्दै आइरहेको छ । शिविरमा व्यवसाय दर्ता, नामसारी, पुँजी वृद्धि, ठाउँ सारी र उद्देश्य थप सम्वन्धी सेवा प्रदानका काम हुने गरेको कार्यालयले जनाएको छ ।