नसर्ने रोगलाई न्यूनिकरण गर्दै कर्णाली सरकार

सुर्खेत – कर्णाली प्रदेश सरकारले नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श, गरी न्यूनिकरण गर्नका लागि निशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यान्वयनलाई अघि बढाएको छ ।

सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश भित्र स्थायी रुपमा बसोबास गर्ने ४० वर्षमाथिका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनिकरणका लागि रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि २०८१ तयार गरी कार्यान्वयनलाई अघि बढाएको हो ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख बृष बहादुर शाहीले कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार गरेर अगाडी बढाइएको बताए । प्रदेशमा नसर्ने रोगको न्यूनिकरणका लागि कार्यविधि नै बनाएर निशुल्क स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि तयारी बैठक बसेर काम अघि बढेको छ । ‘स्थानीय तहदेखि जिल्लामा आधारभुत तथा विशेषज्ञ स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ’ उनले भने, ‘यही वैशाखबाट नागरिकको निशुल्क परीक्षणको कामलाई अघि बढाउने छौं ।’

यो कार्यक्रमले उक्तरक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मृगौला सम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यविधिका अनुसार प्रदेशका स्वास्थ्य चौकी, आधारभुत अस्पताल, रणनीतिक स्थानका अस्पताल तथा स्वास्थ्य संस्था, जिल्ला स्तरिय अस्पताल, प्रदेश आर्युर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निशुल्क परीक्षण हुनेछ ।

स्वास्थ्य संस्थाले ३ दिन विशेष अभियान संचालन गर्नुपर्ने, विशेष अभियान सञ्चालन गरेको एक महिनासम्म लक्षित सूमुहलाई निशुल्क सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । रणनीतिक स्थान वा माथिल्लो तहका स्वास्थ्य संस्थाहरुले सेवा वर्षभरी नियमित संचालन गनुृपर्नेछ । स्वास्थ्य परीक्षणको क्रममा कुनै व्यक्तिलाई गम्भिर रोग पहिचान भएमा प्रारम्भिक औषधि उपचार गरी थप उपचारका लागि विशेषज्ञ वा विशिष्टिकृत अस्पतालमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै कार्यक्रम आवधिक संचालन गर्न आवश्यक निर्देशन, सुपरीवेक्षण, समन्वय, लागि लागि मन्त्री अध्यक्ष रहने गरी एक निर्देशक समिति रहने व्यवस्था गरिएको छ । समितिले कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना र मापदण्ड, निधारण गर्ने, कार्यक्रम कार्यान्वयनका लागि सम्बिन्धित निकायलाई निर्देशन दिने, प्रदेश तथा स्थानीय तहसँग समन्वय सहजिकरण गर्ने कार्यविधिमा जनाइएको छ ।

यस्तै नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई कार्यान्वयनका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकसंयोजक रहने गरी एक कार्यान्वयन समितिको व्यवस्था गरिएको छ । कार्यान्वयन समितिले जनस्वास्थ्य, स्वास्थ्य सेवा कार्यालय, र स्थानीय तहमा समन्वय गरी भौगोलिक अवस्था, जनशक्ति, भौतिक पूर्वाधार र उपलब्ध स्रोत साधनको आधारमा कार्यक्रम सञ्चालनका लागि कार्यायोजना बनाउने, कार्यक्रमको कार्यतालिका निधारण गर्ने, कार्यक्रमको अनुगमन र सुपरीवेक्षण गर्नेछ ।