बागमती प्रदेशमा महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

हेटौँडा– विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ ।

सांकेतिक तस्वीर

यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड–१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् । मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३.२ प्रतिशत महिला र ६६.८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ । आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो । कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उनले भने, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ ।

एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८.७ प्रतिशत महिला र ७१.३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो । प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताए । (गोरखापत्र)