सुर्खेत – कर्णाली प्रदेशको हुम्ला जिल्ला बाहेक बाँकी नौ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । तर कुनै पनि जिल्लामा भने सडकको अवस्था गतिलो छैन ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमै सडकका खाल्डाखुल्डीले यात्रामा सकस हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । भने जिल्लाका बाँकी अन्य क्षेत्रमा गतिलो सडक देख्न कल्पना छ ।
कर्णालीका सबै जिल्ला सदरमुकाम आसपास क्षेत्रमो कालोपत्रे तथा पिच जस्तो देखिने मात्रै सडक छ । तर स्थानीय तहसम्म पुग्ने ग्रामिण क्षेत्रका सडकहरु बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुदाँ दुर्घटनाको जोखिम उच्च छ ।
यहाँका कच्चि, साँघुरा र अप्ठ्यारा नयाँ नयाँ सडक नै मान्छेका काल बन्न थालेका छन् । कर्णाली भएका अधिकांश सवारी दुर्घटनाको कारण सडक नै बन्न थालेका छन् ।
तथ्यांक अनुसार कर्णालीमा पछिल्लो तीन वर्षभित्र ४२२ जना मानिसको सडकमै ज्यान गएको छ । भने १६ सय ८७ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका अनुसार २०७५ साउन महिनादेखि ०७८ मंसिरसम्म विभिन्न प्रकारका ८४१ वटा सवारी दुर्घटना हुदाँ ४२२ जनाले ज्यान गुमाउनु परेको हो । जसमा चालु आर्थिक वर्षको साउन देखि मंसिर महिनासम्म मात्रै १०८ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ ।
‘कच्चि सडक, तीब्र गति, थोत्रा सवारी, चालकको लापारवाही र खराब मौषमका कारण दुर्घटना बढेका हुन्’ प्रदेश ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भने, ‘ट्राफिक नियमको उल्लंघन गर्दा पनि सवारी दुर्घटना बढेको छ । यस बिषयमा हामीले ठाउँठाउँमा सचेतनाका कार्यक्रम गर्दै आएका छौं ।’
कुन जिल्लामा कति ?
प्रदेश ट्राफिक कार्यालयका अनुसार २०७५ साउन महिनादेखि ०७८ मंसिरसम्म सुर्खेतमा ३२९ सवारी दुर्घटना हुदाँ १०५ जनाको मृत्यु भएको छ । भने ६१२ जना घाइते भएका छन् ।
यस्तै सल्यानमा १४७ सवारी दुर्घटना हुदाँ ६६ को मृत्यु, ३३९ घाइते, रुकुमपश्चिममा ५९ दुर्घटना, ३९ मृत्यु, १३५ घाइते, जाजरकोटमा ५६ दुर्घटना, ४५ मृत्यु, १२१ घाइते र दैलेखमा ११४ दुर्घटना, ४६ मृत्यु, २५६ घाइते भएका छन् ।
त्यस्तै कालिकोटमा ४९ दुर्घटना, २८ मृत्यु, ५९ घाइते, जुम्लामा ४५ दुर्घटना, २२ मृत्यु, ७१ घाइते, मुगुमा २० दुर्घटना, ४५ मृत्यु, ४० घाइते, डोल्पामा १६ दुर्घटना, १५ मृत्यु, २८ घाइते र हुम्लामा ६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । भने २६ जना घाइते भएका छन् ।