राष्ट्रियसभा सदस्यमा कर्णालीका तीनै सत्तारूढ गठबन्धन उम्मेदवार विजयी

सुर्खेत । कर्णाली प्रदेशका तीन जना राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई हराएका हुन् ।

निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार तीन जना राष्ट्रिय सभा सदस्य छान्न कुल १९१ मतदाता मध्ये १८९ जनाले मतदान गरेका थिए । जसमा प्रदेश सभा सदस्यहरूको ३५ मतमध्ये ३४ जनाले मतदान गरेका थिए । भने पालिका सदस्यहरूबाट १५६ मतमध्ये १५५ मत खसेको थियो ।

निर्वाचित हुनेमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली काँग्रेस महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्र अपाङ्गतातर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान) रहेका छन् ।

उनीहरुले नेकपा एमालेका महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्गता÷अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा (सुर्खेत) लाई पराजित गरेका हुन् ।

मत परिणाम अनुसार गठबन्धनबाट महिलातर्फ दुर्गा गुरुङले १०९ मत प्राप्त गरेकी छन् । भने एमालेकी गंगा थापा महतले ४४ प्राप्त गरेकी छन् । यस्तै अपांग÷अल्पसंख्यकतर्फ गठबन्धनकै नरबहादुर विष्टले १११ मत प्राप्त गरेका छन् । भने एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन् ।

खुलातर्फ उदय बोहोराले १११ मत प्राप्त गरेका छन् । भने एमालका चुडामणि शर्माले ४४ मत प्राप्त गरेका छन् । जम्मा खसेको मतमध्ये महिला तर्फ स्थानियमा २ मत बदर भएको छ । भने प्रदेशतर्फ १ मत खालि परेको थियो ।