अफगानिस्तानमा अमेरिका सफल कि असफल ?

काठमाडौं – तालिबानलाई विस्थापन गर्न अफगास्तिान छिरेको अमेरिका अन्ततः दुई दश पछि उसैलाई सत्ता सुम्पिँदै आफ्ना सबै नागरिकलाई समेत उद्धार नगरिकन हतारहतार फर्किएको छ । केही नागरिकलाई उद्धार गर्न बाँकी रहेको अमेरिकी अधिकारीले स्वीकार गरेका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क र वासिङ्टनमा हमला गर्ने आतंकवादी संगठन अल–कायदालाई तालिबानले संरक्षण गरेको भन्दै अमेरिकी सेना अफगानिस्तान पसेको थियो । २००१ अक्टोबर ७ मा अमेरिकाले अफगानिस्तानमा अल–कायदा र तालिबानविरुद्ध पहिलोपटक हवाई हमला गर्‍यो । उसले तालिबानलाई सत्ताच्युत गरी मुख्य सहरहरूबाट धपाइदियो ।

त्यसयता २० वर्षसम्म जारी द्वन्द्वमा झन्डै एक लाख ७० हजार अफगान नागरिकले मृत्युवरण गरे । अमेरिकाले २४ सयभन्दा बढी र नाटो गठबन्धनका अरू साझेदारले ११ सयभन्दा बढी सैनिक गुमाए । लाखौँ अफगान नागरिक शरणार्थी बने, आन्तरिक रूपमा विस्थापित भए । समाचार संस्था एपीका अनुसार साढे ४०० जति सहायता कार्यकर्ता र ७२ पत्रकार मारिएका छन् ।

लगभग दुई दशक अफगानिस्तान बसेको अमेरिकाले अल–कायदाका नेता ओसामा विन लादेन र तालिबानका केही नेताहरूलाई त मारिदियो तर तालिबानलाई पराजित गर्न भने सकेन । यस अवधिमा तालिबान लडाकुले धैर्य गरे, शक्ति सञ्चय गरे र पुनरागमन गरे ।

अमेरिकी सेना फिर्ता भएपछि तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भनेका छन्, “अमेरिका पराजित भयो… ।”

तालिबान प्रवक्ताले भनेजसरी अमेरिका हारेर फर्किएको पनि होइन । अमेरिका र तालिबानबीचको सम्झौताअनुसार फर्किएको हो । त्यस सम्झौतामा अमेरिकाले बाँकी रहेका सेनालाई फिर्ता गर्ने र तालिबानले अल–कायदा वा अरू अतिवादी समूहलाई उसले नियन्त्रण गरेको क्षेत्रमा सञ्चालन हुन नदिन सहमति जनाएका थिए ।

तालिबानले जे चाहेको हो, त्यो पाएको छ । त्यो हो अफगानिस्तानमा तालिबानको सत्ता । त्यस अर्थमा उसले जितेको भन्न मिल्छ । तालिबान आफ्नो प्रतिबद्धतामा कति अडिग रहन्छ, त्यो भने समयले बताउनेछ । अमेरिकाले जे चाहेको थियो, त्यो पूर्ण रूपमा प्राप्त गर्न सकेन । उसले आतंकवादको अन्त्य र शान्ति स्थापना चाहेको थियो, तर त्यो पूरा भएको छैन । यस अर्थमा अमेरिका आफ्नो मिसनमा सफल नभएको भन्न सकिन्छ ।

पूरै फौज फिर्ता हुनु केही दिनअघि मात्र अगस्ट २६ मा आईएस–केको आत्मघाती आक्रमणमा अमेरिकाले १३ सैनिक गुमायो भने जवाफी कारबाहीमा १० जना निर्दोष मानिस मारिए ।

ब्राउन विश्वविद्यालयका अनुसार २० वर्षमा अमेरिकाले अफगानिस्तानमा २.२६ त्रिलियन (२२ खर्ब) अमेरिकी डलर खर्च गरेको छ । त्यसका दीर्घकालीन परिणामहरू देखिँदै जालान्, तर अहिले भने अफगानिस्तान अस्तव्यस्त भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताएका छन् । त्यो अध्याय कस्तो हुनेछ, आगामी दिनमा देख्न पाइनेछ । एजेन्सीको सहयोगमा ।