वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा (एमाले)बाट निर्वाचित १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेसँगै उनको पद धरापमा परेको हो ।

एमालेबाट निर्वाचित प्रदेश सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले आज (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । खनाल अहिले प्रदेश सरकारमा सामाजिक विकासमन्त्री छन् ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । एमालेको सभामुखसहित ५६ सदस्य थिए । दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएकोले एक स्थान रिक्त छ । उनी एमालेबाट निर्वाचित भएका थिए । अब एमालेसँग ४४ सांसद छन् ।

नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहँदै आएकी शाक्यले पार्टी विभाजनमा उनलाई साथ दिइनन् । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल बहुमत रहेकाले उनी संविधानको धारा १६८ ९१० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

उक्त धाराअनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने भए पनि उनले प्रतिनिधित्व गरेको दल विभाजित भएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनविद्हरू बताउँछन् ।

शाक्यले आफू पदका लागि नयाँ पार्टीमा नजाने बताउँदै आएकी छन् । उनी (एकीकृत समाजवादी) मा नआए गठबन्धनको दलबाट मुख्यमन्त्री बनाउने तयारी रहेको नेताहरू बताउँछन् । उक्त पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ ।