मकवानपुर – कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको मकवानपुरको हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेसँगै संक्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको हेटौँडा अस्पतालले जनाएको छ ।
अस्पतालमा अन्य जिल्लाबाट अक्सिजन आपूर्ति हुँदै आएको थियो । अस्पतालले २ सय ७३ वटा अक्सिजन सिलिन्डरलाई आलोपालो गर्दै हालसम्म संक्रमितहरुको उपचारमा प्रयोग गर्दै आएको थियो । अस्पतालमा एकदिनमा करिब २ सय ५० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्ले बताउँछन् । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा र अन्य जिल्लामा भर पर्नुपर्ने अवस्थाका कारण अस्पतालमा अक्सिजन अभाव भएको हो ।
अस्पतालले ५१ वेड क्षमताको भेन्टिलेटरसहितको आईसीयू, एचडीयू र स्टेप डाउन कक्ष सञ्चालनमा ल्याएको छ । संचालनमा रहेका भेन्टिलेटर, आईसीयू, एचडीयूका सबै वेड संक्रमित विरामीले भरिएका छन् । हेटौँडा अस्पताललाई विरामीको चाप थेग्न समस्या हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पताललाई समेत कोरोना अस्पतालको रुपमा प्रयोग गर्दै आएको थियो । कुल ३० वेड क्षमताको दुबै अस्पतालमा पनि अक्सिजन अभावका कारण शुक्रबारबाट उपचार सेवा बन्द भएको छ ।
मुख्यमन्त्री पौडेलले चासो नदिँदा बनेन अक्सिजन प्लान्ट
हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पताल विकास समितिमा पूर्व अध्यक्ष प्रकाश पौडेलले पटक–पटक अक्सिजन प्लान्ट निमार्णका लागि बागमती प्रदेश सरकारसमक्ष अनुरोध गरेका थिए । अस्पतालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका विभिन्न निकायमा अक्सिजन प्लान्टसहित अन्य सेवा विस्तारका लागि प्रस्ताव पेश गरेको थियो । तर, उक्त प्रस्तावमाथि प्रदेश सरकारका कुनैपनि निकायले चासो नदेखाएको पूर्वअध्यक्ष पौडेल गुनासो गर्छन् ।
अध्यक्ष पौडेलले चालु आर्थिक वर्षको २०७७र०७८ को जेठ महिनाबाट अस्पतालको नयाँ भवनमा सिटी स्क्यान र अक्सिजन प्लान्टसहितको अन्य सेवा विस्तारका लागि मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्रालयमा ७२ करोडको प्रस्ताव पेश गरेको भएपनि उक्त प्रस्तावमा कुनैपनि निकायले चासो नदिएको उनको भनाइ छ ।
यसअघि अक्सिजन सेवा सञ्चालनका लागि अस्पतालमा २५ बेडमा अक्सिजन पाइप जडानको काम भइसकेको थियो । तत्कालिन अस्पताल व्यवस्थापन समितिले उक्त वेड विस्तार गरी ३ सय पु¥याउने योजनासहित प्रदेश सरकारसंग उक्त रकम माग गरेको थियो ।
हाल अस्पताल प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईका छोरा राजेश प्रसाईलाई उक्त प्रतिष्ठानका रजिष्ट्रार पदमा नियुक्त गरीएको छ । प्रसाईको नेतृत्वमा पनि अस्पताल सुधार एवम् सेवा विस्तारका कुनैपनि काम नभएको सर्वसाधारणको गुनासो छ । अस्पतालको नाम, लोगो र अस्पताल व्यवस्थापन समिति परिवर्तन भएपनि अस्पतालमा उल्लेख्य सुधार भने हुन सकेको छैन ।
कोरोना संक्रमित छट्पटाउँदै, मुख्यमन्त्रीलाई थाहा छ ?
हेटौँडा अस्पतालमा ५० जना भन्दा बढी कोरोना संक्रमित विरामीहरु उपचाररत छन् । अस्पतालले दिएको जानकारी अनुसार, हालसम्म अस्पतालमा कुल १५ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ भने करिव २० जना संक्रमितहरुको अवस्था गम्भीर रहेको छ ।
यो समाचार तयार पार्दासम्म हेटौँडा अस्पतालमा उपचाररत विरामीहरुका लागि केही घण्टाका लागि मात्रै पुग्ने अक्सिजन उपलब्ध छ । त्यसपछि विरामीहरुलाई अन्य अस्पतालमा पठाउने तयारी गर्नुबाहेक अस्पताल प्रशासनसँग कुनै विकल्प छैन ।
प्रदेशको राजधानी हेटौँडा मुख्यमन्त्री पौडेलको गृह जिल्ला हो । अस्पतालबाट करिव ५ किलोमिटर पश्चिममा बस्दै आएका मुख्यमन्त्रीलाई अस्पतालको अवस्था जानकारी भएपनि कुनै ठोस पहल भने हुन सकेको छैन । अस्पतालमा बिहिबार मात्रै एक्स–रे मेसिन बिग्रिएर स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् ।
उक्त मेसिन मर्मत हुने अवस्था नदेखेपछि स्वास्थ्यकर्मीहरुले अस्पताललाई मेसिन खरिदका लागि आग्रह गरे पनि प्रशासनले कुनै कदम चाल्न सकेको छैन् ।
त्यति मात्र होइन अस्पतालको कोभिड वार्डका लागि अन्य थुप्रै स्वास्थ्य सामग्री आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
ratopati