सुन तस्करी प्रकरणमा मुछिएका एक अभियुक्तलाई काेरोना पोजेटिभ देखाएपछि….

विराटनगर – आपराधिक समूह स्थापना, संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा मोरङ अदालतमा अहिले बिचाराधिन छ । सोही मुद्दाका फरार प्रतिवादी हुन् काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ४ का हरिशरण खड्का । यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन तस्करी प्रकरणका मुछिएका अभियुक्त खड्कालाई काठमाडौँ ल्याएपछि आवश्यक कारवाहीको लागि गएको आइतबार राति मोरङ प्रहरी कार्यालय ल्याइएको थियो । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि अभियुक्त खड्कालाई आवश्यक कारवाहीको लागि विराटनगर ल्याइएको हो । मोरङ प्रहरीमा अभियुक्त खड्कालाई ल्याएपछि आवश्यक कारवाहीको लागि मोरङ अदालतमा सोमबार दिउँसो उपस्थित गराउने तयारी गरेको थियो । पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराउन अनिवार्य विराटनगरस्थित कोशी अस्पतालमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण गराउनु पर्दछ । आरडिटी परिक्षण गर्दा नेगेटिभ आएपछि अदालत उपस्थित गराउनुपर्ने हुन्छ । तर, आरडिटी परीक्षणमा रिपोर्ट आउनु अगाडी अभियुक्त खड्कालाई सोझै अदालत उपस्थित गराएको थियो । अस्पतालले खड्काको आरडिटी परिक्षणको रिपोर्ट पोजेटिभ आएको अदालतमा पठाएपछि कर्मचारीहरू भागदौड सुरू भएको अदालतका एक जना कर्मचारीले बताए । आरडिटी परीक्षणमा अभियुक्तलाई पोजेटिभ देखाएपछि अदालतको करिब दुई घण्टा जति कामकाज प्रभावित बनेको थियो । अदालतभित्र र परिसर पुरै सेनिटाइज गरेपछि कामकाज सुरू भयो । अभियुक्त खड्कालाई अदालतबाट बाहिर निकालेर पुनः कोशी अस्पतालमा पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाब दिन लगाएको थियो । सोमबार साझ कोशी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको खड्काको परीक्षणमा नेगेटिभ देखाएको अस्पतालले जनाएको छ । प्रतिवादी खड्काको आरडिटी रिपोर्टमा पोजेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएकोले मंगलबार थुनछेक बहस हुने मोरङ अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । अदालतको थुनछेक बहस सकेपछि न्यायधीशले आदेश दिनेछन् । खड्का २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो । पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।हेल्थ आवाजबाट