कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुने र निको हुनेको संख्या बराबर 

सुर्खेत – कर्णाली प्रदेशमा सोमोबार कोरोना संक्रमण हुने र निको हुनेको संख्या बराबर रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४१ जना, दैलेखका २ जना, जाजरकोटका १ जना, बाँकेका १ जना गरी जम्मा ४५ जना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना गरी जम्मा ४७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । आजैका दिनमा डिस्चार्ज हुने संक्रमितको संख्या बराबर भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन्। उनका अनुसार ४७ जना थप कोरोना संक्रमित हुदा संक्रमण जित्नेको संख्या पनि ४७ रहेको छ । सोमोबार सल्यान जिल्ला अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना र दैलेखको आठबिस नगरपालिकाको आसोलेसनबाट १ जना गरी जम्मा ४७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । हालसम्म प्रदेश भर कोभिड-१९ पुष्टि भएका संक्रमितको सख्या १६६३ रहेको छ । यसका साथै कोरोना संक्रमण जित्नेको सख्या १४५५ पुगेको डा. तिवारीको भनाइ छ । उनका अनुसार हाल कोरोनाका सक्रमित २०२ जनाको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा कोरोनाको कारणले ६ जनाको मृत्यु भएको डा. तिवारीले बताए।