समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको हो ।
नेपालका नदी नालाबाट वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने गर्छ । यसमध्ये करिब १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतका रूपमा पुनर्भरण हुने गर्छ ।
जलस्रोत नीतिले नेपालमा विद्यमान तथा सीमा क्षेत्रमा रहेका नदीनालाको समेत राष्ट्रिय हितअनुरूप उपयोग गर्ने योजना सरकारले बनाएको छ ।
अथाह पानीको भण्डारलाई बहुआयामिक उपयोगमा बदलेर देशले विश्वमा समृद्धि र आर्थिक वृद्धिको उचाइ हासिल गर्न सक्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमा उपलब्ध भूमिगत, सतह र हिउँमुनिको पानीका मुख्य स्रोत छन् । तराईमा सबैभन्दा बढी भूमिगत पानीको स्रोत छ । रिचार्ज क्षेत्र छाडेर भूमिगत जलको उपयोग गर्न सके तराईमा खानेपानीको उपभोग र अधिकांश कृषि फाँटलाई हराभरा बनाउन सकिन्छ ।
जलस्रोत तथा ऊर्जा आयोगले गरेको एक अध्ययन अनुसार नेपालका झण्डै छ हजार नदीनाला छन् । यी नदीनालामध्ये ७४ प्रतिशत नेपाली भूभाग ओगट्ने गर्छ ।
नेपालमा निरन्तर हिउँ पर्ने क्षेत्रमध्ये पाँच हजार मिटरमाथिका २३ प्रतिशत भूभाग रहेको छ । त्यस्तै तीन हजार २५२ हिमनदीका स्रोत छन् । नेपालमा दुई हजार ३२३ वटा हिमताल रहेका छन् । तिनले ७५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।
#gorkhapatraonline.com