उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ ।
कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।
यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिनुभयो ।
#gorkhapatraonline