गोदावरीदेखि पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने

ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ ।

उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् ।

स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।
केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउनुहुन्छ ।