खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य एमआरपी प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।
विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् ।
दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।
तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् ।
खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।
कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् ।
उपभोक्ता अधिकारकर्मीले सरकारले अनुगमन गरेर तेलको भाउ घटाएको दाबी गरे पनि उपभोक्ताले राहत पाउने गरी भाउ घट्न नसकेको बताउँदै आएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमल्सिनाले प्रतिलिटर ६० रुपियाँ बढाएर पाँच÷दस रुपियाँ घटाउँदा मख्ख पर्ने सरकारका निययमनकारी निकाय नै उपभोक्ताप्रति जिम्मेवार नभएको पुष्टि हुने बताउनुभयो ।
तेलको भाउ घटेको लगभग १५ दिन भइसके पनि उभपोक्ताले घटेको अनुभूति गर्न नभएको र त्यस विषयमा विभागले अनुगमन नगरेको उहाँको दाबी छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अधिकांश उद्योगीले यसअघि तोकिएको तेलको एमआरपीमा पाँच, सात र दस रुपियाँ घटाएका छन् ।
सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले साना पसलमा यसअघि नै खरिद गरेको तेल रहेकाले पुरानै मूल्यमा बिक्री गरे पनि नयाँ प्रिन्ट र एमआरपीको तेल आएपछि त्योभन्दा बढाएर बिक्री गर्न नमिल्ने बताउनुभयो ।
लिटरमा ६० रुपियाँ बढाएर सात÷दस रुपियाँ मात्रै घटेर नहुने भन्दै उहाँले भन्नुभयो यसअघि बढेकोमा पाँच÷दस रुपियाँबाहेक सबै घट्नुपर्छ, हाल तेलको माग पनि सामान्य छ ।
अहिले तेलको भाउ घटनु बाहिरबाट आयात हुने कच्चा पदार्थ घटेर नभई भारतमा निर्यात हुँदै आएको तेल रोकिएसँगै सस्तो भएको उहाँको बुझाइ छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, कच्चा पदार्थ सस्तो हुने बित्तिकै त तेलको भाउ धेरै तल आउँछ, अहिले त भारत निर्यात रोकिएर हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले तेलको घटेको हल्ला आए पनि खुद्रा व्यापारीले घटेको अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, हल्ला आएअनुसार त अहिलेसम्म घटिसक्नु पर्ने हो तर अहिलेसम्म थोक व्यापारीले घटाएका छैनन् ।
विभागका निर्देशक शिवराज सेढाईंले प्रतिकार्टोन दुई हजार एक सयबाट घटाएर एक हजार नौ सय रुपियाँ पु¥याएको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तेल घट्यो भनेर मात्रै हुँदैन, घटनुपर्ने जति घटे वा नघटेको विषयमा हेर्छौं, नघटाउनेलाई कारबाही हुन्छ ।
विभागले माघको तेस्रो साता खाने तेलको अस्वाभाविक मूल्य बढाउने बारा जिल्लामा सञ्चालित अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनी प्रालिलाई तीन÷तीन लाख रुपियाँ जरिवाना गरेको थियो ।
तेल उद्योगीले विभागमा पेस गरेका विवरण अध्ययन गर्दा ती उद्योगीले पेस गरेका विवरणको तुलनामा बिक्रीका लागि बजारमा पठाएका तेलको अधिकतम खुद्रा मूल्य एमआरपी बढी तोकेको पाइएपछि कारबाही गरिएको थियो ।(Gorkhapatra)