काठमाडौं – नेपाली सेनाले केही समयअघि ल्याएको २८ हजार पीसीआर कीट नेपालमा भइरहेको कोभिड-१९ परीक्षणमा मेल नखाने र फरक किसिमको रहेको पाइएपछि त्यत्तिकै थन्किएको छ। लामो समयसम्म रोकिएका र एक स्थानमा संकलन गरिएका स्वाब यो कीटबाट अर्को स्थानमा लगेर परीक्षण गर्न समेत मिल्दैन। पीसीआर परीक्षण दायरा बढाउने भन्दै सेनामार्फत सरकारले २८ हजार कीट खरिद गरेको थियो। तर ल्याइएका नयाँ कीटबाट कोरोना संक्रमण भए/नभएको परीक्षण गर्नै समस्या परेको छ। हाल नेपालमा थ्री एमएल भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) बाट स्वाब संकलन भइरहेको छ। तर सेनाले खरिद गरेको कीट वान एमएल भिटिएममा मात्र प्रयोग हुने र यो थ्री एमएल भिटिएमभन्दा कम गुणस्तरको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले चीनको सानस्योर कम्पनीबाट नेपालमा प्रयोग गर्नै नमिल्ने कीट ल्याएको हो। नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘भिटिएम वान एमएल र थ्री एमएलका फरक-फरक हुन्छन्, तर, सेनाले ल्याएको भिटिएम वान एमएलको हो, सो भिटिएम कम गुणस्तरको रहनुका साथै त्यसमा राखिएको स्वाब अर्को प्रयोगशालामा पठाउन मिल्दैन।’ मन्त्रालय स्रोतका अनुसार सेनाले हालै ल्याएको पीसीआर रिएजेन्ट कीट हाल नेपालको प्रयोगशालामा प्रयोग भइरहेको भन्दा फरक रहेका कारण प्रयोगमा समस्या भएको हो।
हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्राक्सन कीट, भिटिएम र पीसीआर रिएजेन्ट सबै आरटी पीसीआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका थिए। तर, एक महिनाअघि चीनबाट सेनाले ल्याएका ६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको २८ हजार पीसीआर कीट अन्य कम्पनीका मेसिनमा प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो। सेनाले ल्याएको भिटिएम र एक्स्ट्रयाक्सन कीट दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । तर, हाल देशभर प्रयोगमा रहेका ’थ्री एमएल’का भिटिएम कोठाको सामान्य तापक्रममा राख्न सकिने खालको छ। तर वीर अस्पतालले भने सेनाले ल्याएको सो वान एमएल कीट प्रयोग गर्न थालेको कोरोना भाइरस उपचारका फोकलपर्सन डा. अच्युत कार्कीले बताए।
सेनाले ल्याएको सो कीट स्वास्थ्य मन्त्रालयमार्फत वीर अस्पतालमा पठाइएको छ। तर यो कीट प्रयोग गरी शंकास्पद बिरामीबाट संकलन गरिएको नमूना (स्वाब) लामो समयसम्म राखेर परीक्षण गर्न भने नमिलेको डा. कार्कीले जानकारी दिए। उनले भने, ‘सेनाले ल्याएको कीटबाट हामीले परीक्षण सुरू गरेका छौँ, तर यो कीट हामीले यसअघि प्रयोग गरिरहेको भन्दा अलि फरक पायौं, यो कीटमा स्वाब संकलन गरेर धेरै समय राख्न नमिल्ने र एक स्थानमा संकलित स्वाब अर्को स्थानमा पठाउन पनि नमिल्ने रहेछ।’ डा. कार्कीका अनुसार हाल कोभिड परीक्षणका लागि अस्पतालमा नै आएका बिरामीमा भने यही कीट प्रयोग भइरहेको छ। कार्कीका अनुसार अस्पतालमै स्वाब संकलन र छोटो समयमा नै परीक्षण गर्दा यो कीटमा खासै समस्या छैन, तर बाहिरबाट पठाइएका स्वाब परीक्षण गर्दा भने समस्या परेको छ। ‘त्यसैले हामीले अस्पतालमै भएका बिरामीमा सेनाको र बाहिरबाट पठाइएका नमूना परीक्षणमा पहिलेकै कीट प्रयोग गर्ने गरेका छौँ,’ कार्कीले भने।
’मन्त्रालयले सिफारिस गरेकै सामान ल्याएका हौं’ – सैनिक प्रवक्ता
६ करोड रुपैयाँभन्दा बढी रकम खर्चेर ल्याएको कीट नेपालमा तत्काल परीक्षणमा प्रयोग नै गर्न नमिलेपनि नेपाली सेनाले भने स्वास्थ्य मन्त्रालयले सिफारिस गरेकै आधारमा आफूहरुले सो सामान ल्याएको बताएको छ। सैनिक प्रवक्तासहायकरथी विज्ञानदेव पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै सिफारिस गरेको आधारमा सो पीसीआर कीट (भिटिएम र आरएनए एक्स्ट्रयाक्सन) ल्याएको बताए। उनले भने, ‘हामीले स्वास्थ्यले नै सिफारिस गरेको सामान ल्याएका हौँ, अहिले प्रयोग गर्न मिलेन भन्दा दु:ख लागेको छ।’ सेनाले ल्याएको प्रयोगशाला कीट ‘कीट सेट’मा मात्रै प्रयोग गर्न मिल्ने देखिएकाले (भिटिएम र आरएनए एक्स्ट्रयाक्सन) छुट्टाछुट्टै वितरण गर्दा समस्या आएको हुन सक्ने उनले तर्क गरे। सामान ल्याइसकिएको, सुरूमै भनेको भए फिर्ता गर्न मिल्ने, तर अहिले ढिला भइसकेको पाण्डेले बताए। उनले भने, ‘सुरूमा स्वास्थ्यले हामीलाई भनेको भए हुने, सामान नमिल्ने र मागिएको भन्दा फरक परे बुझेको पाँच दिनसम्ममा फिर्ता गर्न मिल्ने सम्झौता थियो, त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ।’
https://thahakhabar.com