थपिए ३१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ३ सय ४० पुग्यो

काठमाडौं-नेपालमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय दाङकी प्रमुख सुनिता पौडेलकाअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनकाअनुसार नयाँ संक्रमितमध्ये २८ जना पुरुष र ४ जना महिला रहेका छन् । थप ३१ जना संक्रमित थपिएसँगै आजमात्रै संक्रमित हुनेको संख्या ५८५ जनामा पुगेको छ । यसअघि शनिबार पछिल्लो २४ घण्टामा नेपालमा ५५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४० पुगेको छ । शनिबार रसुवा जिल्लामा पनि संक्रमण देखिएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।