काठमाण्डौ – आज विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘सिमसार र पानी’ भन्ने नारासहितयो वर्ष दिवस मनाउन लागिएको हो । रामसार महासन्धिमा सन् १९९७ देखि हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ।
नेपाल औपचारिक रुपमा भने सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो । सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए ।
नेपालका १० वटा सिमसार विश्वसूचीमा दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे(फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् ।
पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी ४ हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेका छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसाथ गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो ।
त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो ।
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
हरेक वर्ष दिवस मनाउने र जतचेतनामूलक कार्यक्रमहरु गरिए पनि प्राकृतिक सम्पदाका रुपमा रहेका सिमसार क्षेत्रलाई अतिक्रमणबाट जोगाउन भने सकिएको छैन ।