
सुर्खेत – नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका निवर्तमान अध्यक्ष सुशीलराज शर्माले एक लाख रुपैयाँको ‘श्रीमनु पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गरेका छन् ।
आफू अध्यक्ष रहँदा प्राप्त गरेको भत्ताको रकममा थप रकम मिसाएर उनले अक्षय कोष स्थापना गरेका हुुन् । व्यक्तिगत लाभका रूपमा लिन सकिने रकमलाई पत्रकारिताको संस्थागत विकास र सामाजिक उत्तरदायित्वसँग जोड्दै उनले सुरु गरेको यो पहललाई पत्रकारिता क्षेत्रमा अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ ।
शर्माले आफ्नी छोरी श्रीमनु अधिकारीको पहिलो जन्मोत्सवको अवसर पारेर बुधबार उक्त अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् । बालबालिकाको हक, अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र बालमैत्री विषयमा निरन्तर कलम चलाउने पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।
कोषबाट प्रदान गरिने ‘श्रीमनु पत्रकारिता पुरस्कार’ प्रत्येक वर्ष साउन १३ गते, श्रीमनुको जन्मदिनको अवसरमा वितरण गरिने व्यवस्था गरिएको उनले बताए । पुरस्कार छोरीकै जन्मदिनलाई सामाजिक योगदानसँग जोड्ने उद्देश्यले स्थापना गरिएको उनको भनाइ छ ।
‘विशेषत हरेक वर्ष श्रीमनु अधिकारीकै हातबाट उत्कृष्ट पत्रकारलाई सम्मान गरिने व्यवस्था गरिएको छ’ उनले भने, ‘जसले पुरस्कारलाई अझ अर्थपूर्ण र भावनात्मक बनाउने विश्वास गरिएको छ ।’
अक्षय कोषको संरक्षण तथा व्यवस्थापन काक्रेविहार मिडिया प्रालि र पत्रकार शर्माले संयुक्त रूपमा गर्नेछन् । कोषको दीर्घकालीन सञ्चालन र पारदर्शितालाई सुनिश्चित गर्ने गरी यसको संरचना तयार गरिएको जनाइएको छ ।
शर्मा २०८१ सालमा सम्पन्न नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको निर्वाचनमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको चुनावी गठबन्धनलाई कडा प्रतिस्पर्धा दिँदै बराबर मत प्राप्त गरेका थिए । त्यसपछि भएको प्रक्रियामार्फत उनी पहिलो कार्यकालका लागि शाखा अध्यक्ष बनेका थिए । करिब डेढ वर्षको कार्यकालमा प्राप्त भत्तालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी पत्रकारिताको विकासमा लगानी गर्ने निर्णयले उनको नेतृत्व शैलीलाई फरक ढंगले चिनाएको छ ।
पत्रकारिता समाचार संकलन र सम्प्रेषणमा सीमित नभई समाजप्रति उत्तरदायी पेशा भएको सन्देश दिन यो अक्षय कोष स्थापना गरिएको उनले बताए । विशेष गरी बालबालिकासम्बन्धी मुद्दा अझै पनि सञ्चारमाध्यममा अपेक्षित प्राथमिकतामा नपुगेको अवस्थामा यस्तो पुरस्कारले यस क्षेत्रमा खोजमूलक, तथ्यपरक र प्रभावकारी पत्रकारितालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
व्यक्तिगत अवसरलाई सामाजिक अभियानसँग जोड्ने यो अभ्यासले पत्रकारितामा सकारात्मक प्रतिस्पर्धा, बालअधिकारप्रति संवेदनशील समाचार उत्पादन र पुरस्कार संस्कृतिलाई संस्थागत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । सुर्खेतबाट सुरु भएको यो पहल आगामी दिनमा अन्य मिडिया हाउस, पत्रकार तथा सञ्चारकर्मीका लागि पनि प्रेरणादायी उदाहरण बन्न सक्ने अपेक्षा गरिएको छ ।