बिना धितो ऋणका लागि सम्झौता

सुर्खेत – बिना धितो ऋण प्राप्त गर्न सहज बनाउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष र वीरेन्द्रनगर नगरपालिका, सुर्खेतबीच समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको छ। व्यक्तिगत कृषि कर्जा सुरक्षण योजना कार्यान्वयनका लागि देशभरका नौ वटा स्थानीय तहसँगै वीरेन्द्रनगर नगरपालिकाले पनि सम्झौता गरेको हो ।

]सम्झौतासँगै स्थानीय तहका कृषक, घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने उद्यमी तथा पर्याप्त धितोको अभावका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नसकेका व्यवसायीलाई कर्जा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

योजनाअन्तर्गत निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कृषि तथा साना उद्यमसम्बन्धी कर्जाको सुरक्षण गर्नेछ । यसले बैंकहरूको जोखिम घटाउने र धितोविहीन योग्य सेवाग्राहीलाई ऋण उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले स्थानीयस्तरमा उत्पादन, उद्यमशीलता र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

नगरपालिकाका अनुसार कृषि उत्पादन वृद्धि, घरेलु तथा साना उद्योगको विस्तार र युवालाई उद्यमशीलतामा आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी बन्न सक्छ । सरोकारवालाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुँदै आएका कृषक र साना व्यवसायीका लागि यो योजना उपलब्धिमूलक हुने बताएका छन् ।

कर्जा प्राप्त गर्न सहज भएपछि नयाँ उद्यम स्थापना हुनुका साथै सञ्चालनमा रहेका कृषि तथा व्यवसायिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । साथै वित्तीय पहुँच अभिवृद्धिमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न यो साझेदारी महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।