नेपालमा ढिलै भए पनि हिउँदे वर्षा र हिमपात हुने

नेपालमा ढिलै भए पनि हिउँदे वर्षा र हिमपात हुने भएको छ ।

आउँदो बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँकाअनुसार अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली प्रवेश गर्ने देखिएको छ ।

पश्चिमी वायुको प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले यसबारे प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन ।

तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।