परदेशी छोरीको ब्यथा

आजको दिन सधै भन्दा फरक थियो । मैले सधै आमालाई फोन गर्थे तर आज खै के भो मैले बाबालाई फोन गरे । अनि बाबाले भन्नू भो सन्चै छ नानी तिमीलाई ? अनि मैले भने गाह्रो अनि फरक हुँदो रहेछ बाबा घर देश अनि परदेश ।
बाबाले लामो सास तान्दै भन्नू भयो “एक ढिक्का आँसु खसे पनि चित्त बुझ्छ छोरी परदेशमा“ भनेर. म निशब्द भएँ ।
हो साच्चै नै बाबाको कुरा सुनेर मेरो आखाँबाट पिल पिल गर्दै आसुँको ढिक्क खसेछ पत्तो नै पाईन । तर बाबाका शब्दहरु मनलाई सान्त्वना दिन आए जस्तो भयो । त्यो क्षण मेरो बाबा क्षणिक भए पनि मेरो नजिक आए जस्तो भयो । हो बाबा सच्चीकै तपाईंको त्यो एक वचनले, एक ढिक्का आशुले मलाई धेरै नै शितलता अनि शान्तिको अनुभुती भयो बाबा । हो सच्चिकै हो ।
बाबा तपाईं महान हुनुहुन्छ । थाहा छ तपाईंले आफ्नो भागको सबै खुशी त्यागी त्यो खुशी हामीलाई दिनु भएको छ । तर विडम्बना हामीले तपाईंलाई केही दिन सकिरहेका छैन केवल माया र इज्जत बाहेक ।
हिजो जसरी तपाईंले हाम्रो आवश्यकता पुरा गर्न लागि पर्नु भएको थियो नि हो त्यही बाटोमा आज म यहीँ बाटोमा हिडिरहेको छु । पालो सबैको आउँछ भन्थे नि बाबा , हो आउँदो रहेछ सबैको पालो ।
यो परदेशको ठाउँमा नुनिलो खाना संगै नुनिलो आशुँको ढिक्का अनि त्यो साहुको बचन खाँदा त्यो भोको पेट त भरिन्छ बाबा तर यो म खानाले होईन यादले भरिन्छ । अनि याद सहारा बनी होईन बेसहारा बनि पीडा दिंदो रहेछ ।
मलाई छोरीहरुको तोते बोलीको यादले सताउछ । छोरीहरूलाई मैले आफै कविता कोरेर कविता सुनाउँदै खाना खुवाउँथे ।
सानो सानो आँखा।
कति हेर्छो माखा?
सानो सानो खुट्टा
कति लाउँछौ जुत्ता ?
,सानो सानो हात
कति खान्छो भात ?
….भनी फकाएको त्यो दिन एकदमै सम्झन्छु । अनि सम्झन्छु ती बच्चाहरुको कलिलो अनुहार । केही वर्ष पछि घर जाँदा थोरै अनुहार फेरिएको हुनेछ । मन धेरै खुशी हुन्छ होला । त्यो खुशी संगसंगै दुखी पनि । किनकी पहिलेको बालकपनलाई मैले हेर्न पाउँदिन । बिछोडिएकी आमाले दिएको पिडा उसको मनको कुनै कुनामा पक्कैपनि लुकेको हुन्छ होला नि ?
हो बाबा आज मैले नि त्यही तपाईंले घर छोड्नु हुँदा भोग्नु भएको पिडा मैले पनि भोगिरहेकी छु । साँच्चै नै पिडादायी हुँदोरहेछ यस्तो जिन्दगी जुन बालबच्चालाई छोडी परिवारलाई छोडी हिँड्नुपर्ने बाँच्नु पर्ने जिन्दगी !
आखिरमा यहि माया नै रहेछ ठूलो , जुन बाबा आमाले आफ्नो बच्चालाई सधै आफूसंग बाँधेर बाँध्न सक्ने । मायाको क्षमता पैसाले कहिले बाँध्न नसक्ने रहेछ बाबा ।
तपाईले दिएको जस्तो माया, आमाले दिएको जस्तो ममता सायद मैले मेरो छोरीहरुलाई दिन सक्दिन । पैसाले त कमि कमजोरीहरु पुरा गर्न सकिएला तर मेरो मन भित्रको माया उनीहरुले देख्न सक्दैनन र उनीहरुको माया अन्तर आत्माबाट पनि निस्कदैन होला । जुन एउटा इमोसनल फीलिङबाट सायद मैले कहिल्यै पाउन सक्नेछैन ।
बाबा तपाईंले दिनुभएको माया सद्भाव ज्ञानको एकदमै आभारी छु । खै मैले छोरीहरुलाई त्यस्तै माया दिन पाउँछु कि पाउँदिन ? यो मनमा सधैं यहि खट्किन्छ । मैले पनि छोरीहरु प्रति माया र सद्भाव प्रकट गरिरहन्छु । अहिले उनीहरु सानै छ उनिहरुले सन्झिएला नसम्झिएला त्यो त भविस्यले बताउने छ । मैले तपाईंको माया, स्नेह , अनुभव, सुखदुःख, सबै कुराको मुल्यांकन गरेकी छु । तर उनीहरु मेरो मायाबाट धेरै नै टाढा छ खै मेरो माया मात्रै हो कि भन्ने जस्तो लाग्छ । तर समय अनुसार बुझ्दै जाँदा बुझ्छन होला जस्तो मलाई लाग्छ । बुझ्छन् होला मैले भोगेका परिस्थिति र बाध्यताको बाँधलाई होइन त बाबा ?

आगोको ताप जाडो मौसममा कति न्यानो हुन्छ त्यही आगोको ताप गर्मीमा ज्वाला हुन्छ । कहिलेकाहीँ लाग्छ यो परदेशी आमाको न्यानो माया नपाउँदा मेरो छोरीहरुको भविष्य मैले नै दाउमा लगाएको त छैन कतै ? भन्ने महसुस पनि हुन्छ यो बिरानो ठाउँमा दिमागमा के के सोंच आउँछ बाबा । मन धाम्न सक्दिन अनि पीडा हुन्छ ।

मेरो बाबा सायद बालबच्चाको मायाले तपाईलाई पनि परदेशमा यस्तै पिडाले सताएको थियो होला । बल्ल बुझ्दैछु र भोग्दैछु आखिर जिन्दगी के हो भन्ने कुरा । तपाईलाई सधै माया गर्ने तपाईको एकलौटी छोरी प्यारी छोरी जुन आज जिम्मेवारी र परिस्थितिसंग मजबुत अनि साहासी भइ सकेकि छ । मेरो छोरीहरू म जस्तै होइन म भन्दा पनि धेरै साहसी अनि जागरुक होस् । मेरो छोरी मैले जस्तो दुख होईन म भन्दा धेरै दुखलाई बुझेर अगाडि बढुन भन्नू मन छ तर खै उनिहरुले बुझ्छन् कि बुझ्दैनन् एउटा परदेशी आमाको पिडा परदेशमा बसेर देखेको सपना र परदेशले सिकाएको अनुभव भोगाइ महशुस गराई ? तपाईं र मेरो भोगाइ एउटै त हो नि है बाबा ?
(पेल्काचौर–६ टामा गाउँ, हाल हङकङ )