संसद् विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्छः देउवा

काठमाडौं – नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताए । अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने उनको भनाइ छ । जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पु¥याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने तर्क गरे । देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताकोमा जानुपर्ने उनको भनाइ छ ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे ।