भारतको केन्द्रीय पशुपालन विभागले गाई सम्बन्धी ज्ञान बढाउने उद्देश्यले पशुपालन मन्त्रालयले ‘राष्ट्रिय कामधेनु आयोग’को गठन गर्याे

 

 

एजेन्सि-भारतको केन्द्रीय पशुपालन विभागले गाई सम्बन्धी ज्ञान बढाउने उद्देश्यले देशैभर गौ–विज्ञान परीक्षा सञ्चालन गर्ने भन्दै पशुपालन मन्त्रालयले ‘राष्ट्रिय कामधेनु आयोग’को गठन गरेको छ।

आयोगले गाईको महत्वको प्रचार प्रसार गर्दै परीक्षा सञ्चालन गर्ने भएको हो। आयोगका अध्यक्ष वल्लभभाई कथिरियाले प्रत्येक वर्ष परीक्षा सञ्चालन गर्ने योजना बनाइएको बताए।

एक पत्रकार सम्मेलनमा केन्द्रीय पशुपालन मन्त्री गिरिराज सिंहले भने‚‘हामी आउँदो महिना राष्ट्रिय स्तरमा कामधेनु गौ–विज्ञान प्रचार प्रसार परीक्षाको आयोजना गर्दैछौं। गाईमा एक किसिमले पूरै विज्ञान छ भन्दा हुन्छ‚ त्यसको खोजी हुन जरुरी छ। देशको अर्थव्यवस्थाको विकासमा यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

केही विद्वानले सरकारी कार्यक्रमको आलोचना गरेका छन्। दुग्धजन्य क्षेत्रका विज्ञ कुलदीप शर्मा भन्छन्‚‘भारत सरकारले गाईबारे एक विशेष प्रकारको धारणाको विकास गर्न खोजेको देखिन्छ। यद्यपि‚ गाईप्रति आममानिसको जानकारी बढाउन यो कार्यक्रम सही छ।’

उनले अगाडि भने‚‘किसानलाई गाईबारे सोध्ने हो भने उनीहरूलाई हरेक कुरा थाहा छ। जानकारी बढाउने उद्देश्यले क्विज चलाउन खोजिएको हो भने ठीक हो‚ तर गाईपालनबाट आम्दानी बढाउने तरिकाबारे ठोस नीति बनाउनु अधिक महत्वपूर्ण हुनेछ।

 तर विज्ञ कुलदीप शर्मा भने सरकारी नीतिप्रति असहमत छन्। ‘स्वदेशी गाईको संरक्षण राम्रो कुरा हो। तर‚ जर्सी गाईलाई निरुत्साहित गरिनु राम्रो होइन। पशुमा भेदभाव गर्ने कुरा मैले बुझेको छैन। सरकारले जसरी जर्सीको भन्दा स्वदेशी गाईको दूध राम्रो हो भन्ने प्रचार गरिराखेको छ‚ त्यो वैज्ञानिक तथ्यमा आधारित छैन र प्रामाणिक पनि छैन’

पशुपालन मन्त्रालयका अनुसार‚ उक्त परीक्षा अंग्रेजीका अलावा अन्य १२ क्षेत्रीय भाषामा सञ्चालन गरिनेछ। परीक्षामा विद्यालयमा अध्ययनरत् नियमित विद्यार्थीदेखि अन्य सर्वसाधारण समेतले भाग लिनेछन्। परीक्षा उत्तिर्ण गर्नेले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।

गाईको ‘जेनेटिक अपग्रेडसन’ र दुग्धजन्य उत्पादकत्व बढाउन यो कार्यक्रमले महत्पूर्ण भूमिका खेल्ने मोदी सरकारको दाबी छ। कामधेनु आयोगले स्वदेशी नस्लका गाईको विकास तथा संरक्षणको लक्ष्य राखेको छ। आयोगले जर्सी गाई पालनलाई निरुत्साहित गर्दै स्वदेशी नस्लकोगाईपालनमा जोड दिँदै आएको छ। भारतमा ४३ नस्लका गाई पाइन्छन्।