काठमाडौं – यूएस क्यापिटल (संसद भवन) मा भएको ताजा हमला सन् १८१२ को युद्धपछिको पहिलो हमला बताइएको छ । यूएस क्यापिटल हिस्टोरिकल सोसाइटीका विशेषज्ञले यसबारे जानकारी दिएका हुन् ।
युद्धका बेला बेलायती सेनाले संसद भवनमा आगो लगाइदिएका थिए ।
भाइस एडमिरल सर एलेक्जेन्डर ककबर्न र मेजर जनरल रोबर्ट रासको नेतृत्वमा बेलायती सैनिकले सन् १८१४ अगस्टमा निर्माणाधीन संसद भवनमा आगलागी गरिएको थियो । तरपनि भवन बच्न सफल भयो किनभने अत्यधिक वर्षा भइरहेको थियो ।
बेलायती सैनिकले उक्त हमला अमेरिकी हमलाको जवाफमा गरेका थिए । संसद भवनमा हमला हुनु एक वर्ष अघि अमेरिकाले अपर क्यानडाको राजधानी योर्कमा आगलागी गरिदिएको थियो ।
बेलायती सैनिकले ह्वाइट हाउससमेत शहरका अन्य हिस्सामा पनि हमला गरेका थिए।
त्यतिबेला क्यानडा कुनै देश नभई यो बेलायतको उपनिवेशबाट बनेको थियो ।
अमेरिकी संसद भवनमा हिंसापछि एक बयान जारी गर्दै हिस्टोरिकल सोसाइटीले भन्यो, ‘अमेरिकाको संसद भवन एउटा भवनभन्दा थुप्रै गुणा बढी हो । यो अमेरिकी लोकतन्त्र र हाम्रो बाँच्ने तरिकाको मूर्त रुप हो ।’
‘हामी कानून पालना गर्ने देश हौं र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हाम्रो संवैधानिक गणतन्त्रको सबैभन्दा आधारभूत विशेषतामध्ये एक हो ।’