काठमाडौ – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धिगर्नेहरु जनतासामु माफि माग्नुपर्ने बताएका छन्।
नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाति महाकाली सन्धि गर्नेहरुले माफी माग्नुपर्ने बताए।
सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख भएको उनले बताए। ‘इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिअत्यन्तै अपमानजनक थियो। नेपालले ठूलो भूमि गुमाउनुपर्यो। नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो।
कालीपश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो। तर महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु त्यो बेला हुनुहुन्थयो प्रधानमन्त्री पनि हुनुहुन्छ’, उनले भने, ‘महाकाली पश्चिमका भागको दावी नेपालले छोडेको हो सुगौली सन्धीमा तर महाकाली नदिको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ।
महाकाली नदिको अधिकांश भाग दुई मुलुको सीमा नदि भएको स्वीकार गर्दै भनेर लेखिएको छ।’ यादवले सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख भएको बताए।
‘यसको जवाफ दिनुपर्यो, कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुपर्यो’, उनले भने, ‘यसका लागि हामी सबैले माफी किन नमाग्ने? राष्ट्रवादीको नारा हामी दिन्छौँ मधेशीलाई गाली गर्छौँ यिनीहरु भारतीय हुन, धोती हुन भनेर भन्छौँ भनेर माफी माग्नुपर्यो नी।’
उनले महाकाली सन्धिगर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे। नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उनले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बता।
कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उहाँले सन् १९६५ मा पनि सन्धिभएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताए।
नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने यादवले बताए। राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताए। नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको यावदले जानकारी दिए।