भारतमा भ्याक्सिनको प्रतिक्षा सकियो, दुुई भ्याक्सिनले पायो मान्यता

 

काठमाडौं – भारतमा कोरोना भ्याक्सिनको प्रतिक्षा अब समाप्त भएको छ । ड्रग कन्ट्रोलर अफ इन्डिया (डिसिजीआई) ले दुुईवटा भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । यसअघि नै भारतका स्वास्थमन्त्री डाक्टर हर्षबर्धनले सबै नागरिकलाई निशुल्क खोप लगाउने घोषणा गरिसकेका छन् ।

सिरम इन्स्टिच्युट अफ इन्डियाद्धारा विकसित कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकको कोभ्याक्सिनले प्रयोगको अनुमति पाएका हुन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा स्वदेशी कम्पनी भारत बायोटेकले को–भ्याक्सिनको विकास गरेको हो । कोविशिल्ड भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्रेजेनेकाले विकास गरेको हो, यसलाई सिरम इन्स्टिच्युटले भारतमा उत्पादन गरिरहेको छ ।

कोरोना महामारीसँग जुधिरहेको भारतमा लामो समयदेखि भ्याक्सिनको प्रतिक्षा थियो । डिसिजिआईबाट अनुमति मिलेसँगै अब भारतमा कोरोना भ्याक्सिनको प्रयोग सुरु हुनेछ ।

मोदीले दिए बधाई
कोरोनाविरुद्धको खोपले आपतकालिन प्रयोगको अनुमति पाएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा बधाई सन्देश दिएका छन् । ‘एक उत्साही लडाईलाई बलियो बनाउनका लागि यो एक निर्णायक मोड हो । डिसिजीआईले सिरम संस्थान र भारत बायोटेकका खोपहरुलाई स्विकृति प्रदान गर्दै भारतलाई स्वस्थ र कोभिड मुक्त राष्ट्र बनाउनका लागि मार्ग प्रशस्त गरेको छ । भारतलाई बधाई, हाम्रा मेहिनती वैज्ञानिकहरु र नवप्रवर्तनकर्ताहरुलाई बधाई ।’
भारत सरकारले खोप लगाउने कामको पूर्व तयारी यसअघि नै तिव्र बनाइसकेको छ । यही क्रममा शनिबार देशका हरेक राज्य र केन्द्र शासित प्रदेशहरुमा भ्याक्सिनको ड्राई रन आयोजना गरिएको थियो ।

ड्राई रन के हो ?
ड्राई रन खोप लगाउने रिहर्सल हो । अर्थात्, यसक्रममा खोप लगाउँदा जे–जति काम गर्नुपर्ने हो, ती सबै कामको पूर्व अभ्यास गरिन्छ । तर खोप भने लगाइदैंन । शनिबार प्रत्येक राज्य र केन्द्र शासित प्रदेशअन्तर्गतका १ सय १६ जिल्लाका २ सय ५९ स्थानमा खोप लगाउने रिहर्सल गरियो । खोप नलगाएपनि यसक्रममा अन्य सबै प्रक्रिया पूरा गरियो । खोपलाई सुरक्षित भण्डारण गर्ने, सुरक्षित रुपमा यसको प्रयोग गर्नेलगायत तयारीहरुको परीक्षण गरियो ।
मानिसहरुलाई उत्कृष्ट तरिकाले कसरी खोप लगाउन सकिन्छ भनेर परीक्षण गर्नका लागि यो पूर्वअभ्यास कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि खोप लगाउने व्यक्तिहरुको पाखुरासम्म सांकेतिक रुपमा खोप पुु¥याइयो, तर खोप लगाइएन । सारमा, खोप लगाउने प्रक्रियामा कुनै पनि कमजोरी नदेखियोस् भन्नेका लागि रिहर्सल गरिएको थियो । भारत सरकारले ठूलो संख्यामा स्वास्थकर्मी र प्रशासनिक कर्मचारीहरुलाई खोप प्रक्रियाका विषयमा प्रशिक्षण दिइसकेको छ र त्यस प्रशिक्षण कत्तिको फलदायी रह्यो भनेर जाँच्न यो परीक्षण गरिएको थियो ।

कोरोनाको प्रभाव
कोरोनाबाट अति प्रभावित देशहरुको सुचीमा भारत शीर्ष तीनभित्र पर्छ । यहाँ १ करोड ३ लाखभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ । यद्यपी, ९९ लाख २७ हजार ३ सय १० जना निको पनि भइसकेका छन् । यसक्रममा कोरोनबाट १ लाख ४९ हजारभन्दा धेरैले ज्यान गुमाए । संक्रमित संख्याका आधारमा हेर्ने हो भने अति प्रभावित देशको सुचीमा अमेरिकापछि भारत दोस्रो स्थानमा आउँछ । मृतक संख्याको हिसाब निकाल्दा भारत तेस्रो स्थानमा आउँछ ।

अमेरिकामा २ करोडभन्दा धेरैजना संक्रमित भइसकेका छन् र ३ लाख ५८ हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमित संख्या भारतभन्दा कम छ । यहाँ ७७ लाख १६ हजार ४ सय ५ जना संक्रमित भएका छन् । तर, मृतक संख्या भारतभन्दा धेरै छ । यहाँ १ लाख ९५ हजार ७ सय ४२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।