जाँदाजाँदै ट्रम्पलाई नयाँ झट्का : रक्षा विधेयकमाथि लगाएको भीटो खारेज

एजेन्सी – अमेरिकी कंग्रेसले रक्षा खर्चको कोषमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको विशेषाधिकार (भीटो) खारेज गरिदिएको छ। पदमा बहाल राष्ट्रपतिले लगाएको भीटो खारेज भएको पहिलोपटक हो।

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले सन् २०२१ को पहिलो दिनमै दुर्लभ सत्र आयोजना गरी रक्षा क्षेत्रमा राष्ट्रपतिले लगाएको भीटोबारे छलफल गरेको थियो। अमेरिकी कंग्रेसको तल्लो सदन प्रतिनिधि सभामा यसबारे पहिले नै मतदान भइसकेको थियो।

आगामी एक वर्षसम्म अमेरिकी रक्षा नीतिमा हुने खर्चलाई निर्धारण गर्नेगरी ७ खर्ब २० अर्ब डलर बराबरको रक्षा खर्चसम्बन्धि यो विधेयक प्रस्ताव गरिएको थियो।

चुनाव हारेपछि केही साताभित्रै ह्वाइट हाउस छाड्नुपर्ने बाध्यतामा रहेका राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका केही प्रावधानहरूको विरोध गरेका थिए।

सिनेटमा विधेयकका पक्षमा ८१ र विपक्षमा १३ मत परेको छ। राष्ट्रपतिले लगाएको भीटो खारेज गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ।

यो घटना अमेरिकी कंग्रेसमा नयाँ सदस्यहरूले सपथ लिनुअघि नै भएको हो।

अफगानिस्तान र यूरोपबाट अमेरिकी सैनिक हटाउन खोजिरहेका राष्ट्रपति ट्रम्पले यो विधेयकको विरोध गरिरहेका छन्। किनकी, विधेयकमा सैनिक कटौतिको सीमालाई खुम्च्याउने प्रावधान छ।

राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति खर्चिलो र निष्प्रभावी रहेको बताउने गरेका छन्।

कंग्रेसबाट पारित भएको यो विधेयक कानुनकै रुपमा कार्यान्वयन गर्न भने राष्ट्रपतिले हस्ताक्षर गर्नैपर्ने हुन्छ।

राष्ट्रपति ट्रम्पले बुधबार मात्रै यो विधेयकमाथि भीटो प्रयोग गरेका थिए। तर उनका सल्लाहकारहरूले विधेयकविरुद्ध नजान उनलाई सुझाएका थिए।

यसअघि ट्रम्पले विभिन्न ८ वटा विधेयकमाथि भीटो प्रयोग गरेका थिए।

राष्ट्रपति ट्रम्पको कार्यकाल यही जनवरी २० मा सकिँदैछ। त्यसैदिन राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ लिनेछन्।