नियमित गर्भ जाँच गरे मृत्युबाट पनि बचिन्छ : डा.पन्त

सुर्खेत – नियमित गर्भ जाँच गरेमा अकालमा हुने मृत्युबाट  बच्न सकिने डा. सजिप्ता पन्तको भनाई छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत महिला तथा प्रसुती रोग विशेषज्ञ डा. पन्तका अनुसार नियमित गर्भ जाँच नगरेकै कारण स्वास्थ्य स्थिती थाहाँ नहुदाँ प्रसुति अवस्थामा धेरै गर्भवतीले ज्यान गुमाउनु परेको छ ।

‘गर्भवती र सुत्केरी अवस्था विशेष समय हो । यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ’ उनले भनिन्, ‘स—साना गल्तीका कारण आमा र बच्चामा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सचेत रहन जरुरी छ ।’ उनका अनुसार नियमित गर्भ जाँच नहुँदा बच्चा र आमाको स्वास्थ्य अवस्थाको बारेमा थाहा हँुदैन । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई अकालमा ज्यानै जानसक्छ ।

यस्तै गर्भावस्थामा विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुर्छा पर्ने, शरीर कम्पन हुने, योनीबाट रगत बग्ने, बच्चा नचल्ने अथवा कम चल्ने, टाउको दुख्ने, तल्लो पेट अत्याधिक दुख्ने, अत्याधिक बान्ता हुने, योनीबाट गन्हाउने पानी बग्ने, पिसाबमा संक्रमण हुने, रक्तअल्पतालगायतका गम्भीर खालका लक्षणहरु देखा पर्छन् ।

यीमध्ये रक्तस्राप एक प्रमुख समस्या रहेको डा. पन्तको भनाइ छ । कर्णालीमा रक्तस्रापका कारण धेरै आमाले ज्यान गुमाउनु परेको छ । ‘गर्भरहेको सुरुवाती अवस्थामा बच्चा पाठेघरमा नबसेर नलिमा बस्नु वा पहिलो बच्चा नलिमा बसेको छ भने दोस्रो बच्चा पनि नलिमा बस्नु, पाठेघरमा संक्रमण हुनु र गर्भपतन वा साल बिग्रेको अबस्थामा पनि रक्तस्राव हुन सक्छ’ उनले थपिन्, ‘यस्तो अवस्थामा समयमै उपचार नपाउँदा गर्भमा रहेको बच्चा र आमा दुबैको ज्यान जानसक्ने सम्भावना हुन्छ । यस्तो समस्या गर्भ रहेको तीन महिनाको अवधिमा बढी हुन्छ ।’

सुत्केरी भईसकेपछि भएको रक्तस्रावले पनि कर्णालीमा वर्षेनी महिलाले ज्यान गुमाउने गरेका छन् । डा. पन्तका अनुसार बच्चा जन्मिसकेपछि पाठेघर सामान्य अवस्थामा आउन समय लाग्छ । त्यसैले पाठेघर नखुम्चिनु, धेरै बच्चा जन्मिनु, महिलाको उमेर धेरै हुनु, पाठेघरको नलीमा चोट लाग्नु वा पाठेघरको मुख च्यातिनु, शल्यक्रिया गरेकोे घाउबाट धेरै रगत बग्नु, ठुलो सालसँग जोडिएर बसेको सानो साल भित्रै छुट्नु जस्ता कारणले रक्तस्राव भएर अकालमा ज्यान जाने गरेको हो ।

समस्याबाट कसरी बच्ने ?
प्रसुती रोग विशेषज्ञ डा. सजिप्ता पन्त भन्छिन्, ‘यस्ता समस्याबाट बच्न नियमित गर्भ जाँच गर्नुपर्छ । गरुङ्गो सामान नउचाल्ने, लामो यात्रा नगर्ने, स्वास्थ्यकर्मीसँग परामर्श लिने, स्वास्थ्यसंस्थामै सुत्केरी गराउने, यातायातका साधनको तयारी गर्नुका साथै समयमै पैसाको जोहो गरेर अस्पताल पु¥याउनसके रक्तस्रापको समस्याबाट बच्नुका साथै अकाल मृत्युबाट जोगिन सकिन्छ ।’

हरेक गर्भवती आमालाई स्वास्थ्य संस्थामै गएर दक्ष प्रसुतिकर्मीद्वारा प्रसूति सेवा लिन उनको सुझाब छ । घरमै प्रसुति गराउँदा विभिन्न खतराका लक्षण देखिँदा तुरुन्तै उपचार नपाएमा आमा र बच्चाको ज्यान जान सक्ने भन्दै नेपाल सरकारले स्वास्थ्य संस्थामा प्रसुति सेवा निःशुल्क गरेको उनले जानकारी दिईन् । उनका अनुसार स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएमा यातायात खर्चको व्यवस्था गरिएको छ । भने नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था छ ।