सुर्खेत – मुगु जिल्लाको सोरु गाउँपालिकामा लगिएको नेपाल खाद्य संस्थानको चामल स्थानीयले खरिद नगरेपछि गाेदाममा थन्किएको छ । महंगो भएको र चामल खादा राम्रो नभएको भन्दै स्थानीयले संस्थानको चामल खरिद गर्न नमानेपछि गाेदाममा थन्किएकाे हाे ।
गाउँपालिकामा चामल ढुवानी गर्ने जिम्मा पाएको शर्मा ढुवानीले एक हजार ९९ क्वीन्टल चाम लगेको थियो । तर स्थानीयले चामल किन्न मानेका छैनन् । यसअघि संस्थानले ४६ रुपैयाँमा विक्री गर्दै आएको चामलको प्रतिकेजी ५० पु¥यापछि स्थानीयले चामल खरिद नगरेको शर्मा ढुवानीका सञ्चालक वाशुदेव शर्माले जानकारी दिए ।
‘समयमै चालम पु¥याउँदा पनि गोदाममै थन्किएको छ,’ शर्माले भने, ‘विक्री गर्ने आफ्नै जिम्मा भएपनि नागरिकहरुले खरिद नगर्दा गोदाममै चालम कुहिने अवस्थामा पुगेको छ ।’ संस्थानले कर्मचारी नपठाउँदा पनि चामल सोरुकै गोदाममा रहेको शर्माले बताए ।
खाद्य संकट हुने सोरुका नागरिकहरुलाई संस्थानले चामल विक्री नभएको सत्य भएको सोरु गाउँपालिकाका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल ‘वम’ ले जानकारी दिइन् ।
‘विगतका वर्षमा जापानी चामल खादा पेट दुख्ने, पखला लाग्ने, रगम मासी पर्ने समस्या देखिँदा नागरिकहरुले चामल किन्न मानेका छैनन्,’ उपाध्यक्ष वमले भनिन्, ‘चामलमा कुनै समस्या नरहेको तर उच्च पोषिलो चालम भएकाले पाचन प्रणालीमा समस्या भएपछि चामल नै खराव रहेछ भन्ने स्थानीयमा भ्रम परेको हो ।’
कोरोना महामारीको समयमा संस्थानको चामल स्थानीयले राहत दिँदा लिन नमानेको पनि वमले बताईन् । ‘सोरुका जनता भोकै मर्न नपरोस् भन्ने उदेश्यले चामल बारे बुझाएर विक्री गर्ने वातावरण मिलाइरहेका छौं,’ वमले भनिन्, ‘चामल अलि मोटो देखिने र पोषिलो बढी भएकाले विक्री नभएको हो ।
गोदाममै चामल कुहिन नदिनेगरी विक्री वितरण गर्न नागरिकहरुलाई सचेतना फैलाइरहेका छौं, विस्तारै चामलप्रतिको भ्रम अन्त्य गर्न पालिका जिम्मेवार भएर लाग्छ ।’