नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल

धनगढी—अछाम चौरपाटी—५ की कोभिड–१९ संक्रमित गर्भवती महिलाको जटिल शल्यक्रिया सफल भएको छ । कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजका चिकित्सकहरुले २५ वर्षीया गर्भवती महिलाको आन्द्रा बेरिएको (Acute Intestinal Obstruction) को समस्याको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । सोमबार हेलिकप्टरबाट नेपालगन्ज ल्याइएकी ती महिलाको मेडिकल कलेजका चिकित्सकहरुले मंगलबार दिउँसो २ बजे शल्यक्रिया सुरु गरेका थिए । १ घण्टा १५ मिनेट लामो शल्यक्रिया सफल भएको मेडिकल कलेजका उप–निर्देशक तथा मेडिकल कलेज कोभिड–१९ व्यवस्थापनका संयोजक डा. दिनेश श्रेष्ठले बताए । शल्यक्रिया टिममा ३ जना डाक्टर ४ जना स्टाफ नर्स गरी ९ जनाको टिम सहभागी भएको श्रेष्ठले बताए । शल्यक्रियामा संलग्न डा. प्रदीप थापाका अनुसार बिरामीको अवस्था अहिले खतरामुक्त रहेको छ । १० दिनअघि भारतको मुम्बईबाट आएकी ती महिला १८ हप्ताकी गर्भवती थिइन् । उनलाई स्थानीय क्वारेन्टाइनमै रहेका बेला स्वास्थ्य समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज रिफर गरिएको थियो । कोभिड—१९ संक्रमितको जटिल शल्यक्रिया गर्ने भएपछि नेपालगन्ज मेडिकल कलेजले आकस्मिक र बहिरंग सेवा बन्द एक दिनका लागि बन्द गरेको थियो ।