कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काठमाडौँ – कोभिड-१९बाट थप १ पुरुषको निधन भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर नगरपालिका-११का पुरुषको कोरोना संक्रमणबाट मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । गएको सोमबार भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा मृतक पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनकाअनुसार मधुमेह र उच्च रक्तचापका विरामी मृतकमा ज्वरो र निमोनिया पनि थियो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। यसअघि सिन्धुपाल्चोककी १ महिला, बाँकेका १ जना पुरुष, गुल्मीका १ जना पुरुष, ललितपुरका १ जना पुरुष, अर्घाखाँचीका १ जना पुरुष, स्याङ्गजाका १ पुरुष, सुर्खेतका १ जना पुरुष, पाल्पाका १ जना पुरुष, दैलेखका १ जना पुरुष, बाराका १ पुरुष बाजुराकी एक बालिकाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका थिए ।