कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो, आज थपिए १६ संक्रमित

सुर्खेत -कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप १६ जनालाई कोरोना संक्रमण देखिएको हो ।
आइतबारसम्म कर्णालीमा जम्मा ६ सय ४१ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
सोमबार संक्रमण पुष्टि हुनेहरूमा सल्यानका ५, सुर्खेतका १ जना र दैलेखका १० जना रहेका छन् ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।